`

पछिल्लो सयम मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ : अर्थमन्त्री महत

Nepal One HD १० पुष २०८० १६:३१
अर्थ समाचार

काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो सयम मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलबार चितवनमा आयोजित १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले सेयरबजार माथि उठ्दै गएको, घरजग्गा कारोबारमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको र विप्रेषण पनि सकारात्मक रहेको र ब्याजदर पनि घट्दै गएकाले तथा अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका हुन् ।

उनले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्‍याउन सकिने बताए । उनले नेपालमा केही छैन भन्ने सोचेर बाहिर जानेभन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । अर्थमन्त्री महतले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व–पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने आश्वासन दिए । त्यस्तै उनले निकुञ्जसम्बन्धि पुरानो ऐन सरकारले संशोधन गर्ने बताए ।

नाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुराँ एन्ड बार एशोसिएशन नेपालको सहकार्यमा क्षेत्रीय होटल संघ नेपाल चितवनले महोत्सव आयोजना गरेको हो। कोरोना महामारीका कारण पछिल्लो चार वर्षदेखि हात्ती महोत्सव आयोजना भएको थिएन । महोत्सव यस पटक रत्ननगर नगरपालिका–७, मैनाहाचौरमा आयोजना गरिएको छ। पुस १४ गतेसम्म चल्ने महोत्सवमा पर्यटकीय गोष्ठी पनि आयोजना गरिएको छ। यस्तै, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, राष्ट्रिय एवं स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति सहित उत्कृष्ट पथप्रदर्शक, माउते, डुंगा चालक, जीप चालक, संरक्षणकर्मीलाई सम्मान गर्ने कार्यक्रम समेत समेटिएको छ ।


प्रतिक्रिया