`

नेपाल चीन रेलवे एक बर्षमा कति भयो प्रगती ?

Nepal One HD १५ पुष २०८० ८:४६
समाचार

एक वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको भोलिपल्ट काठमाण्डू केरुङ रेलवेको सर्वेक्षण अघि बढाउन नेपाल आएको चिनियाँ प्राविधिक टोलीले आकाशबाट गरिने सर्वेक्षणको काम सम्पन्न गरेको अधिकारीहरूले बताएका छन्।

उक्त सम्भाव्यता अध्ययन चीनले नेपाललाई उपलब्ध गराएको अनुदानबाट गरिएको बताइएको छ।चिनियाँ सरकारी निकायले अघि बढाएको अध्ययन उक्त पूर्वाधार योजनाको लगानी र नक्साङ्कनसहितका विषय निधो गर्न महत्त्वपूर्ण हुने ठानिएको छ।

प्रारम्भिक अध्ययनले नेपाल चीन अन्तर्देशीय रेलसेवा अन्तर्गत नेपालतर्फ ७२ किलोमिटर रेलमार्ग हुने प्रस्ताव गरेको छ।त्यसमध्ये ६८.६ किलोमिटर दूरी सात वटा सुरुङ र २.६ किलोमिटर दूरी नौ वटा पुलले ओगट्ने जनाइएको छ।काठमाण्डू केरुङ रेलवे निर्माणका लागि २७२ अर्ब रुपैयाँ लाग्न सक्ने प्रारम्भिक सम्भाव्यता अध्ययनले देखाएको थियो।

चिनियाँ प्राविधिकहरूले एक वर्षमा के के गरे?
रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालका अनुसार प्राथमिक सर्वेक्षणहरूको काम चिनियाँ प्राविधिकहरूले आफूले बनाएको समय तालिकामै रहेर लगभग पूरा गरेका छन् भने अझ विस्तृत अध्ययन अघि बढाउन गइरहेका छन्।

सन् २०२३का लागि तोकिएको लक्ष्य पूरा भएको उनले बताए, “यो काम चिनियाँ प्राविधिकहरूले नै गरिरहनुभएको छ र हाम्रो तर्फबाट हामीले सहजीकरण गरिदिएका छौँ। प्राथमिक स्थलगत सर्वेक्षण सकिएको छ तर अरू विस्तृत काम हुन बाँकी छ भनिरहनुभएको छ। ड्रोन उडाएर माथिबाट फोटो खिच्ने काम चाहिँ सम्पन्न भएको छ।”

रेलमार्ग निर्माणका लागि प्रयोग गरिने ‘एलाइनमेन्टको’ ड्रोनले आकाशबाट लिएको तस्बिरले नक्साङ्कन र सम्भावित निर्माणस्थलको अध्ययनमा सघाउने अधिकारीहरू बताउँछन्।उक्त कार्य सम्पन्न गर्न कूल ४२ महिनाको समय दिइएको थियो। प्रधानमन्त्री प्रचण्डले गएको सेप्टेम्बरमा चीनको भ्रमण गर्दा दुवै देशका अधिकारीहरूले रेलवेको सम्भाव्यता अध्ययनमा भइरहेको प्रगतिप्रति सन्तोष व्यक्त गरेका थिए।

नेपालसँग सडक, बन्दरगाह, रेल, हवाई यातायात र विद्युत् प्रसारण ग्रिड जस्ता सम्पर्क सञ्जालसँग जोडिएका पूर्वाधार निर्माणमा सहकार्य गर्ने इच्छा बेइजिङले व्यक्त गर्ने गरेको छ।उसले काठमाण्डू केरुङ रेलवेलाई हिमालय सीमापार बहु आयामिक सम्पर्क सञ्जालको महत्त्वपूर्ण हिस्साको रूपमा प्रस्तुत गर्दै त्यसले भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको आकाङ्क्षामा सघाउने बताउने गरेको छ।

यसपालि प्रधानमन्त्री प्रचण्ड चीन जाँदा दुवै देशले नेपाल चीन रेलवे सहकार्यको आठौँ बैठक सम्भव भएसम्म चाँडो गर्ने भन्दै चिनियाँ पक्षले नेपाली रेलवे अधिकारीहरूलाई तालिम दिएर सघाउने संयुक्त विज्ञप्तिमा उल्लेख छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।


प्रतिक्रिया