विद्युत महसुल विवादले श्रमिकलाई सास्ती नदिन ट्रेड युनिय कांग्रेसको माग


काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न उद्योग प्रतिष्ठानहरू र नेपाल विद्युत प्राधिकरणकाबीचको विवादले विद्युत कटौती हुँदा श्रमिकहरू मारमा पर्ने अवस्था बनेको भन्दै ध्यानाकर्षण गराएको छ ।
प्रजातन्त्रवादी श्रमिकहरूको महासंघ ट्रेड युनियनका महासचिव अजयकुमार राईले मंगलबार विज्ञप्तिमार्फत् उद्योगी र प्राधिकरणको विवादका कारण श्रमिकहरूलाई मारमा नपार्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उद्योग, प्रतिष्ठानहरु बिजुलीको महसुल तिर्न नसक्ने भनिरहेका छन् भने प्राधिकरण जसरी पनि महसुल उठाउने, महसुल नतिर्ने उद्योग प्रतिष्ठानहरुको बिजुली काटिन थालेका छन् । हाम्रो दुवै निकाय, उद्योग तथा प्रतिष्ठान र प्राधिकरणलाई प्रश्न छ, यति लामो समयसम्म बिजुलीको महसुल भुक्तान गराउन प्राधिकरण किन अग्रसर भएन ? यति लामो समयसम्म उद्योग प्रतिष्ठानहरुले पनि किन बिजुलीको महसुल तिरेनन् ?’
उनले यस्तो घटनाक्रमले आमश्रमिकहरू नै मारमा पर्ने अवस्था बनेको भन्दै विवादित मुद्दा लामो समयसम्म अनिर्णयको बन्दी बनाउनु नहुने धारणा राखेका छन् ।
‘उद्योग प्रतिष्ठानहरु र प्राधिकरणबीच भएको विवाद के हो ? त्यसको सत्यतथ्य छानविन र सरोकारवाला पक्षहरु समेतलाई राखी तत्काल समस्याको समाधान निकाल्न सरकारलाई अनुरोध गर्दै श्रमिकहरुलाई काम गर्ने अधिकारबाट बञ्चित नगराउन सम्बन्धित सबै पक्षमा अनुरोध गर्दछौं,’ ट्रेड युनियन कांग्रेसले भनेको छ ।