पार्टीका नेता मार्शललाई पक्राउ गरिएकोमा बाबुरामको आपत्ति
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ ( पूर्वी रूकुम ) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा आपत्ति जनाएका छन् ।
बुधबार सामाजिक संजालमार्फत भट्टराईले पार्टीका केन्द्रीय सदस्य मार्शललाई गिरफ्तार गरिएकोमा आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं।’
प्रहरीले मार्शललाई चार दिनअघि पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको छ । उनलाई रुकुम पूर्वबाट खटेको प्रहरीले गिरफ्तार गरेको थियो । उनी भूमिगत भइसकेपछि २०५३ मा चरेश ओसारपसार गरेको आरोपमा मुद्दा चलाइएको थियो । ०७२ मा जिल्ला अदालत दाङले उनलाई २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
