`

गायक प्रकाश सपुतद्धारा एक सय विपन्न विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

Nepal One HD २४ माघ २०८० २१:४५
मनोरञ्जन

ढोरपाटन (बागलुङ), २४ माघ : लोकगायक प्रकाश सपुतले आफ्नो जन्मगाउँको एक विद्यालयका गरिब तथा अति विपन्न बालबालिकालाई विद्यालय पोशाक सहयोग गर्नुभएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित जनता माध्यमिक विद्यालयका एक सय बालबालिकालाई विद्यालय पोशाक प्रदान गर्नुभएको हो ।

धम्जा गायक सपुतको जन्मगाउँ हो भने उक्त विद्यालयको उहाँ पूर्वविद्यार्थी हुनुहुन्छ । उहाँले प्रकाश सपुत फाउण्डेसनमार्फत विद्यार्थीलाई पोशाक उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर थापाले राससलाई जानकारी दिनुभयो ।

विद्यालयमा अधिकांश गरिब तथा विपन्न बालबालिकाले अध्ययन गर्दै आएको भन्दै गायक सपुतले रु एक लाख १५ हजार बराबरको पोशाक उहाँले उपलब्ध गराउनुभएको हो । ट्र्याकसुटसहितको सेट उपलब्ध गराएपछि जाडोमा विद्यार्थी कठ्याङ्ग्रिएर बिरामी पर्ने र विद्यालय नआउने समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको उहाँ बताउनुहुन्छ ।


प्रतिक्रिया