भुक्तानी नपाएपछि सडकमै दूध पोखेर विरोध (भिडियो सहित)


एक वर्ष अघि आफ्नो उत्पादनले उचित बजार नपाएको भन्दै सडकमै गोलभेडा फ्याँकेर सरकारको विरोध जनाएका चितवनका किसानले अहिले फेरी सडकमै दूध पोखेर आन्दोलन गरेका छन् ।
सरकारले समयमा दुधको भुक्तानी नदिएको आरोपमा उनीहरुले सडकमा नै दुध पोखेर आन्दोलन गरेका हुन् । चितवन दुग्ध उत्पादक सहकारीहरुले दुधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको बिरोधमा आन्दोलनमा उत्रिनु परेको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताएका छन् । किसानहरुले सडकमा दूध पोखाउनुका साथै समस्या समाधानका लागि प्रमुखजल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले आफुहरुको आन्दोलनलाई वेवास्ता गरी रकम भुक्तानीमा ढिलाई गरे अझ ससक्त रुपमा आन्दोलन गर्ने अध्यक्ष बगालको चेतावनी छ ।
किसानहरुले मुख्यगरी दुई वटा माग अघि सारेका छन् । आफुहरुले उत्पादन गरेको दुधको बजार सुनिश्चितता र किसानहरुले पाउनु पर्ने रकमको भुक्तानी पाउनुपर्ने उनीहरुको माग छ । साउन महिना देखिको करीब ५२ करोड भुक्तानी बाकी रहेको किसानले बताएका छन् । विगत ५ दिनदेखि दुधको बिक्रि ठप्प भएपछि किसान थप आक्रोसित बनेका हुन् । चितवनवाट मात्रै दैनिक १ लाख ५१ हजार लिटर दुध बिक्री हुदै आएको छ ।