`

दूध किसानको सरकारसंग १६ बुँदे माग, २१ गतेदेखि प्रदर्शनमा उत्रने

Nepal One HD १० फागुन २०८० १५:२५
अर्थ समाचार

काठमाडौ । दूध किसानहरुले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । दुग्ध उत्पादक किसानहरुको बिभिन्न संघसंस्थाहरुले बिहीबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै बिभिन्न १६ बुँदे मागका साथ आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले केहि समयदेखि उत्पादित दुधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर दुध बिक्रि हुन नसकेको अवस्थामा बिक्रि गरिएको दूधको करिव ६ अर्व वरावरको वक्यौता रकम दुग्ध विकास संस्थान लगाएत नीजि डेरी उद्योगहरुले किसानलाई नदिएको जनाएका छन् ।

उनीहरुले दूधको बाँकी वक्यौता भूक्तानी हुनुपर्ने, किसानले उत्पादन गरेको दूध खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने, दूधको बिक्रि मूल्य निर्धारण हुनुपर्ने, बिक्रि नभएको दुधलाई पाउडर बनाएर देशलाई मिल्क होलिडे हुनबाट रोक्नुपर्ने, वीमित किसानहरुको बीमा रकम भूक्तानी गर्ने व्यवस्था गर्नुपर्ने लगाएतमा माग अघि सारेका छन् ।

आफुहरुको माग पुरा गर्न शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने, देशभरका प्रशासन कार्यालयमा धर्नासहित ज्ञापन पत्र बुझाउने, मुख्य राजमार्गहरुमा चक्काजाम गर्ने र फागुन २१ गतेदेखि निरन्तर रुपमा माइतिघरमा धर्नासहित विरोध कार्यक्रम गर्ने नेपाल दुग्ध व्यवसायी संघका अध्यक्षका अध्यक्ष विश्वराज घिमिरेले जानकारी दिए ।

पत्रकार सम्मेलनमा केन्द्रीय दुग्ध सहकारी संघ नेपालका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले बजारमा पठाइएको दूधको बक्यौता उठ्न नसकिएको बताए । उनले दूध किसानहरु अहिलको अवस्थामा मर्कामा परेको भन्दै राज्यले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । सहकारीले दैनिक १२ लाख लिटर संकलन गरि बितरण गरिरहेको अवस्थामा अहिले दुध नै बिक्रि हुन नसकेकाले सडकमा जान बाध्य भएको उनको गुनासो छ ।

उनीहरुले अहिले दूध उत्पादन क्षेत्रमा कहिल्यै नदेखिएको समस्या उत्पन्न भएको गुनासो गरेको छ । त्यस्तै उनीहरुले नेपालभन्दा भारतमा दूध सस्तो हुँदा सीमावर्ती नाका भएर दूध भित्रिँदा नेपाली दूधको बजार घटेको जनाएका छन् । नेपालमा हाल ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क छ भने करिव ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुग्ध किसानहरु संलग्न छन् ।


प्रतिक्रिया