जुम्लामा १८ करोड २६ लाख राजस्व सङ्कलन


जुम्ला, १२ फागुन : जिल्लास्थित आन्तरिक राजस्व कार्यालयले रु १८ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको सुरुदेखी माघसम्म रु १८ करोड २६ लाख ३४ हजार राजस्व सङ्कलन गरेको हो ।कार्यालयले वार्षिक राजस्व उठाउने लक्ष्य रु ५९ करोड १० लाख रहेको राजस्व कार्यालयका प्रमुख सुब प्रसाद रिजालले जानकारी दिनुभयो ।
कार्यालयले आयकरतर्फ रु १३ करोड २६ लाख ३४ हजार, मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड ६२ लाख नौ हजार, ब्याजतर्फ रु २३ लाख एक हजार, अन्तःशुल्कतर्फ रु ७१ लाख ९४ हजार, घर बहाल कर रु ३३ लाख २६ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी धनसिंह थापाले जानकारी दिनुभयो ।
जम्मा करदाता सङ्ख्या अन्तःशुल्क इजाजत लिएका पाँच सय ८१, भ्याटतर्फ एक हजार पाँच सय २२ र आयकरतर्फ १५ हजार दुई सय १४ रहेको कार्यालया सूचना अधिकारी थपाले बताउनुभयो । “जुम्लामा एक पटक व्यवसायिक र एक पटक निर्माण व्यवसायिकलाई करदाता शिक्षा दिइएको छ । कालिकोट र मुगुका व्यवसायिकलाई पनि करदातासम्बन्धी शिक्षा दिएका छौँ”, कार्यालय प्रमुख रिजालले भन्नुभयो ।
चालू आवको सात महिनामा विविध शीर्षकअन्तर्गत सो सङ्ख्यामा राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोट जिल्लामा कार्य क्षेत्र रहेको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमा पुगेर दिने कार्यालयको योजना रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।