`

समितिले फलामे छड उत्पादन गर्ने कारखानाको अवलोकन गर्ने

Nepal One HD २० फागुन २०८० १५:०४
अर्थ समाचार

काठमाडौ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्पञ्ज आइरन र विलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाहरुको अवलोकन गर्ने भएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तशुल्कका सम्बन्धमा थप अध्ययन गर्न र उद्योगहरुको अवलोकन गर्न उपसमिति बनाउने निर्णय गरेको हो ।

फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीचको भन्सारमा व्यवसायीहरुको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको सभापति अव्दुल खांनले जानकारी दिए ।

बैठकले स्पञ्ज आइरन र विलेट्स प्रयोग गरेर उत्पादन हुने फलामे छडको गुणस्तर निरन्तर रुपमा कायम गर्न गुणस्तर तथा नापतौल बिभागलाई निर्देशन दिने निर्णय गरिएको उनले बताए । यस्तै बैठकले स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तशुल्कका सम्बन्धमा समितिले यसअघि दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा अर्थमन्त्रालयसंग जानकारी लिने निर्णय भएको उनले जानकारी दिए ।

बैठकमा फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्स प्रयोग गर्ने कारखानाका प्रतिनिधहरुसंग छलफल भएको थियो । उनीहरुले अहिले ९७ प्रतिशत फलामे छड उत्पादन गर्ने कारखानाहरुले स्पञ्ज आइरन र विलेट्स प्रयोग गर्ने भएकाले यसमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया