`

राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता

Nepal One HD २८ फागुन २०८० ८:०१
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसदले निकालेको निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा दाबी गर्ने उम्मेदवारको मनोनयन दर्ता आज गरिने तालिका रहेको छ ।

आइतबारै पाँचदलीय सत्तागठबन्धन र प्रतिपक्षी कांग्रेसले उम्मेदवार तय गरिसकेका छन् । माओवादीले गठबन्धनको साझा उम्मेदवारको रूपमा केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेसले युवराज शर्मालाई प्रतिस्पर्धामा उतार्ने भएको हो ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । उनीहरुबीच माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने सहमति छ । यसअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउने बताएपनि पछि कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायतका दलसँग गठबन्धन गरेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाएको हो ।निवर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । रिक्त पद पूर्तिका लागि निर्वाचन हुन लागेको हो ।‘राष्ट्रिय सभाका कुनै सदस्यलाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिने समय सोमबार ११ देखि १ बजेसम्मलाई संसद् भवनको ल्होत्से हलमा तोकिएको छ,’ संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भने । उनका अनुसार सोमबार नै १:३० बजे सचिवालयले उम्मेदवारको सूची प्रकाशन गर्नेछ । 


प्रतिक्रिया