ओलीले मन्त्रीलाई भने ‘अपारदर्शी र भ्रष्टाचारका कुनै पनि क्रियाकलापमा सहभागी नहुनु’


काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई बर्वादी हुनबाट रोक्न नयाँ गठबन्धन बनाएको बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेलाई सरकारमा जाने हतारोले भन्दा पनि देशको बर्वादी हेरेर बस्न नसकेर गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउनु परेको बताए ।
अघिल्लो गठबन्धनलाई आफूले खरानीको डल्लोको संज्ञा दिएको स्मरण गराउँदै ओलीले उक्त गठबन्धन खरानीको डल्लो नै प्रमाणित भएको जिकिर गरे । अध्यक्ष ओलीले अघिल्लो गठबन्धन भत्काउनुमा चीनलाई दोष दिने गरेको भन्दै चीनले नभई एमालेले एकल रुपमा भत्काएको दावी गरे । उनले अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउने प्रधानमन्त्रीको कदम निकै राम्रो भएको धारणा राखे । अहिलको समिकरण जनमुखी भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन उनले निर्देशन दिए ।
उनले प्रधानमन्त्रीमाथिको विश्वासको मत असफल भए ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएकाले अल्पमतको अयोग्य सरकार बन्नबाट रोक्नुपर्ने बताए । त्यस्तै एमाले अध्यक्ष ओलीले सरकारमा सहभागी भएका पार्टीका तर्फका मन्त्रीहरुलाई परिणाम देख्ने गरि काम गर्न निर्देशन दिए । त्यस्तै उनले अपारदर्शी र भ्रष्टाचारका कुनै पनि क्रियाकलापमा सहभागी नहुन निर्देशन दिदै कसैले यस्तो क्रियाकलाप गरे हेरेर नबस्ने चेतावनी दिए ।