`

पुरातन शैलीमा काम गर्ने छुट कसैलाई छैन : उपप्रधानमन्त्री लामिछाने

Nepal One HD ३० फागुन २०८० ६:४४
राजनीति

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुशासन कायम गर्न र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

सिंहदरबारमा मंगलबार गृह मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा अर्धवार्षिक समीक्षालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म पनि विशेष टिओआर लिएर आएको छु । यहाँहरुसँग त परिभाषित जिम्मेवारी छँदै छ । त्यसैले आपसी सहकार्यमा नागरिकले तत्काल महसुस हुने गरी सुधारका काम गरौँ ।”उपप्रधानमन्त्री लामिछानेले पद सुरक्षित हुँदाहुँदै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण नै ‘डेलिभरी’ दिनका लागि भएको उल्लेख गर्नुभयो । गृह मन्त्रालयसँग स्रोत–साधनको अभाव रहेको भन्दै उहाँले प्रहरीका दुवै सङ्गठनसँग आधारभूत वस्तुको खाँचो रहेको औँल्याउनुभयो ।उपप्रधानमन्त्री लामिछानेले सवारी साधन, हातहतियार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्ने भएकाले त्यसतर्फ पर्याप्त ध्यान दिने बताउनुभयो । नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहित तयारी गर्न र बजेटको सिलिङ बढाउन नभई ‘रिभ्यू’ गर्न उहाँले आग्रह गर्नुभयो ।राजस्व सङ्कलन र चुहावट नियन्त्रणमा गृह प्रशासनको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उपप्रधानमन्त्री लामिछानेले राजस्व बढाउन सक्यौँ भने गृहको बजेट क्रमशः ‘रिभ्यू’ हुने बताउनुभयो । उहाँले देशको ढुकुटी बलियो बनाउन इमान्दार प्रयास गर्न अनुरोध गर्नुभयो ।बैठकपछि उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालयबाट सरुवा हुनुभएका सचिव दिनेश भट्टराईलाई बिदाइ गर्नुभएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो । उहाँको स्थानमा एकनारायण अर्याल आउनुभएको छ ।


प्रतिक्रिया