केन्द्रीकृत मानसिकताले सङ्घीयता टिक्न सक्दैन : मुख्यमन्त्री पाण्डे
गण्डकी, २ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकताले सङ्घीयता टिक्न नसक्ने बताउनुभएको छ ।१२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा संयुक्त रुपमा आयोजित सम्पादक÷वरिष्ठ पत्रकारसँगको अन्तरक्रियामा उहाँले सङ्घीय व्यवस्था आएपनि केन्द्रीकृत मानसिकता अझै हट्न नसकेको बताउनुुभयो । आफू मुख्यमन्त्री भएपछि पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीको भेलाका साथै राष्ट्रिय परिषद्को भेला समेत भएको बताउँदै उहाँले उक्त क्रममा सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्रीसँग विभिन्न प्रस्ताव गरिएको बताउनुुभयो ।
राजनीतिक नेतृत्व सत्ताका लागि मात्रै लागेको भन्ने जनताको बुझाइ रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले हाम्रा गतिविधिले नै व्यवस्थाका विरुद्धमा लाग्नेका लागि मलजल पुगेको बताउनुुभयो । राजनीतिक अस्थिरता हामीले नै निम्त्याएको बताउँदै उहाँले हाम्रै गतिविधिले राजनीतिलाई विकृत बनाइरहेको उल्लेख गर्नुुभयो ।
गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना तयार गर्ने क्रममा लागि रहेको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशका ८५ पालिकामध्ये मनाङको नार्पाभूमि बाहेक सबैमा बाटो पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्ला समयमा बाटो, पानी लगायतका सुविधाहरू पुगेपछि वस्तीहरू उजाड बन्दै गएको बताउनुुभयो ।
जग्गाजमिन बाँझो र स्थानान्तरण उच्च गतिमा रहेको उल्लेख गर्नुहुँदै उहाँले यसलाई रोक्नु अहिलेको चुनौती रहेको धारणा राख्नुभयो । गाउँघरमा नै आर्थिक गतिविधि बढाउन सक्नुका साथै रोजगारी सृजना गर्न सकेमा स्थानान्तरण रोक्न सकिने उहाँको भनाइ छ ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले प्रदेशमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमाका कामहरू भइरहेको बताउनुुभयो । “आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी” भन्ने सोचका साथ उत्पादकत्व, सामाजिक न्याय र समुन्नति हासिल गर्ने लक्ष्य राख्दै प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुुभयो ।
उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषि क्षेत्रमा रुपान्तरण गर्नु, विकासका पूर्वाधारको सुदृढीकरण, पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र रोजगारी सिर्जना गर्नु, विकासका लाभको समन्यायिक वितरण सुनिश्चित गरी सामाजिक न्याय स्थापित गर्नु जस्ता उद्देश्य यस योजनामा राखिएको उहाँले बताउनुुभयो ।
योजना निर्माणका लागि सम्बद्ध सबै निकाय र क्षेत्रसँग छलफल एवं अन्तरक्रिया गरिएको उहाँले जानकारी दिनुुभयो । कार्यक्रममा विभिन्न वरिष्ठ सञ्चारकर्मीहरूले गण्डकी प्रदेशमा बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा, प्रदेशको विद्यमान अवस्था लगायतमा जिज्ञाशा राख्नुभएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनामा प्रदेशको प्राथमिकता के हुने ?, प्रदेश सरकारले जलस्रोतको उपयोगका लागि के गर्न सक्छ ?, रोजगारी बृद्धि गर्ने योजना के छन् आदि सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो । बाह्रखरी मिडियाका राजेश केसीले पछिल्ला समयमा मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको बताउँदै कृषकले लगाएको बालीको ४० प्रतिशत वन्यजन्तुबाट नोक्सानी हुने गरेको बताउनुुभयो ।
विकास न्यूजका रामकृष्ण पौडेलले शासकीय प्रणाली बलियो बनाउँदै गए पनि जनतालाई बलियो बनाउने गरी संस्थागत सुधार गर्न नसकिएको धारणा राख्नुुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेत, आरती चटौत, पुष्प दाहाल लगायतले प्रदेशका लागि बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजना, बढ्दो युवा पलायनको अवस्थालगायतका विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
