विराटनगरमा सुरु भयो वोमेन एक्स्पो


मोरङ । महिला उद्यमीहरुको सीप र दक्षता प्रयोग गरी उत्पादन गरेका सामग्रीहरुको बजारीकरण र प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा आयोजना गरिएको सिएनआई वोमेन एक्स्पो २०८० शुरु भएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिले आयोजना गरेको सो एक्स्पोको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले उद्घाटन गरेकी हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले हरेक मन्त्रालयको बजेट लैंगिक मैत्री हुनुपर्ने बताइन् । महिलामैत्री बजेट भए यसबाट महिलाहरुको विकास र उद्यमशिलतामा सहयोग पुग्ने उनको बुझाई छ । एक्स्पोमा हुम्लादेखि मोरङ सम्मका १० जिल्लाका कृषिजन्य, कपडा, उपभोग्य सामान, हस्तकला र पर्यटन प्रवद्र्धन सम्बन्धी सामग्रीहरुको प्रदर्शनी राखिएको छ । दुई दिन सम्म आयोजना हुने सो महिला एक्स्पोमा करिब २५ लाख रुपैया बराबरको कारोबार हुने बताइएको छ ।