`

मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुन्छः अर्थमन्त्री पुन

Nepal One HD २४ चैत २०८० २१:५५
अर्थ समाचार

वीरगञ्ज । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगञ्जमा आयोजना गरेको वीरगञ्जको वाणी बहसमुलक कार्यक्रमअन्र्तगत ‘अर्थमन्त्रीलाई प्रश्नैप्रश्न’ शीषको सत्रमा सम्बोधन गर्दै अर्थमन्त्री पुनले मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताएका हुन् ।

“विश्व बैंकको तथ्याङ्कले पनि साढे तीन प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि हुने देखाएको छ”, उनले भने, “बजेटमा उल्लेख गरेजस्तो आर्थिक वृद्धि नभए पनि यो वर्ष सम्मानजनक आर्थिक वृद्धि हुनेमा आशावादी रहेका छौँ ।” 

उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले छ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखे पनि समग्रमा आर्थिक वृद्धि उत्साहजनक हुने बताए ।

उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुँजीगत खर्च झण्डै १० प्रतिशतले वृद्धि भएको बताए । 

“मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हादा २३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको थियो । अहिले ३० प्रतिशतभन्दा धेरै पुँजीगत खर्च भइसकेको छ । हामीले ७० अर्बभन्दा धेरै रकम बजारमा पठाएसँगै पुँजीगत खर्चमा पनि क्रमशः सुधारमा आएको छ । सरकारले नियमित भुक्तानी पनि गर्दै आइरहेको छ”, उनले भने, “‘सरकारले जतिसक्दो धेरै पुँजी परिचालन गरेर बजारलाई चलायमान गराउने नीति अघि सार्दै आइरहेको छ ।”

उनले सरकारले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधन पनि गरिसकेकाले पुँजीगत खर्च बढ्दै मुलुकको अर्थतन्त्र विगतको भन्दा चलायमान भएर रोजगारी सृजना हुने बताए ।

“सरकारले सामाजिक सुरक्षा तथा पेन्सनलगायतमा जाने खर्चलाई पनि निकासा गर्दै आइरहेका छौँ । यसले गर्दा पनि बजारलाई थप चलायमान गराउने आशा गरेका छौँ ।”

सरकारले चालु आवमा तीन खर्ब दुई अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ९१ अर्ब ८० करोड खर्च भएको भन्दै उनले सरकारले पुँजीगत खर्च बढाउँदै लैजाने बताए । 

अर्थमन्त्री पुनले उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर नै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “हामीले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कुनै नियत राखेका छैनौँ । उद्योगीहरुले गलत नै काम गरेको खण्डमा पहिला कुरा सुन्ने र अदालती प्रक्रियाबाट गलत भएको खण्डमा मात्रै थुन्ने नीति लिनेछौँ । तपाईंहरुले राम्रोसँग काम गर्नुस् हामी तपाईंहरुलाई दुख दिने पक्षमा छैनौँ ।”

अर्थमन्त्री पुनले सरकारले चालु आवमा ४१ प्रतिशत बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखेपनि हालसम्म नौ प्रतिशत मात्रै वृद्धि भएको बताए । 

“गत आवभन्दा नौ प्रतिशत वृद्धि भएको राजस्वलाई १८ प्रतिशत पुर्याउने लक्ष्य राखेका छौँ”, उनले भने, “सरकारले भन्सारविन्दुमा हुने राजस्व चुहावट नियन्त्रणका लागि पनि आवश्यक काम गर्दै आइरहेको छ ।” 


प्रतिक्रिया