`

‘जैविक विविधताको संरक्षण सरकारको प्राथमिकतामा रहेको छ’ – मन्त्री सुडी

Nepal One HD २८ चैत २०८० ६:५१
राजनीति

गण्डकी – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधताको संरक्षण नेपालको प्राथमिकतामा रहेको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबारदेखि सुरु कृषि जैविक विविधता विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा मन्त्री सुडीले जैविक विविधताका क्षेत्रमा देखिएका समस्याको चुनौती सामना गर्दै विभिन्न कार्यक्रमका साथ अघि बढेको बताउनुुभयो । जैविक विविधताको संरक्षणका लागि सरोकारवालाबीचको समन्वय जरुरी रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि जैविक विविधता अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न तवरले प्रयास गरिरहेको बताउनुुभयो । स्वदेशी बाली संरक्षण, दिगो खेती प्रवद्र्धन र परम्परागत कृषि ज्ञानको संरक्षण गर्न स्थानीय समुदाय लक्षित कार्यक्रममा जोड दिइएको उहाँले बताउनुुभयो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्घठनका नेपाल तथा भुटानका प्रतिनिधि केन शिमिजुले कृषि जैविक विविधतामा सङ्घठनको समर्पण र कृषि विविधतालाई प्रवर्द्धन गर्न नेपालजस्ता राष्ट्रलाई सहयोग गर्ने कुरामा जोड दिनुुभयो । कृषि जैविक विविधता संरक्षण र उपयोगलाई बढावा दिनेलगायतका काममा भइरहेका प्रयासबारे उहाँले प्रकाश पार्नुुभयो । स्थानीय र विश्वव्यापी रूपमा कृषि जैविक विविधता बढाउन साना किसान, आदिवासी समूह र स्थानीय समुदायलाई दिगो वन र खेत व्यवस्थापनमा सशक्त बनाउन साझेदारसँगको सहकार्यबारे उहाँले चर्चा गर्नुुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले समुदायमा आधारित संरक्षण पहलमार्फत कृषि जैविक विविधता प्रवद्र्धन गर्न महासङ्घ क्रियाशील रहेको बताउनुुभयो । महासङ्घले किसानसँग नजिकबाट काम गरेको उहाँको भनाइ छ । सम्मेलनमा कृषि जैविक विविधता एवं यसको महत्व, कृषि जैविक विविधतालाई राम्रो वा नराम्रोको लागि संरक्षण र व्यवस्थापन गर्न नीति पारेको सहयोग, कृषि वन प्रणालीको परम्परागत ज्ञान र कृषि जैविक विविधता कायम राख्ने ज्ञान र असल अभ्यास आदानप्रदान, बीउ र खेती व्यवस्थापन प्रविधि, उद्यमी आविष्कारलगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

विभिन्न छवटा सत्रमा हुने छलफल एवं अन्तक्र्रियामा सहभागीले कृषि जैविक विविधतालाई दिगो बनाउनका लागि देखिएका चुनौती, उत्कृष्ट अभ्यास आदिबारे छलफल गर्नेछन् । स्थानीयदेखि विश्वव्यापी वन तथा कृषि उत्पादक संस्थाका प्रतिनिधि, सरकारी प्रतिनिधि, अन्वेषक आदि सहभागी सम्मेलनमा विभिन्न २० देशका ७३ विदेशी र एक सयभन्दा बढी नेपाली प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

साना वन र कृषि उत्पादकको कृषि जैविक विविधतामा योगदानका साथै उनीहरूले कसरी आफ्ना स्रोतहरू दिगोरूपमा व्यवस्थापन र व्यावसायिक उपयोग गरिरहेका सम्बन्धमा पनि सम्मेलनमा छलफल गरिने छ । कार्यक्रमकै क्रममा पोखरामा कृषि जैविक विविधता व्यवस्थापनका नवीन उदाहरण खोज्दै क्षेत्र सहभागीलाई अध्ययन भ्रमण गराइने आयोजकले जनाएको छ ।

सम्मेलनको क्रममा प्रारम्भ गरिएका सहयोगी प्रयासले दिगो भविष्यको लागि मार्ग प्रशस्त गर्ने र कृषि जैविक विविधता संरक्षणले प्रकृति संरक्षण, जीविकोपार्जन र विश्वव्यापी खाद्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।


प्रतिक्रिया