`

जलवायु परिवर्तनजन्य क्षतिबापत आर्थिक सहायतालाई पहल गरिने

Nepal One HD १ जेठ २०८१ १६:१६
समाचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पुगेको क्षतिबापत आर्थिक सहायता प्राप्त गर्न कूटनीतिक पहल गरिने बताएका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले जलवायु वित्तमा सहज पहुँचका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा मुलुकले पैरबी गर्ने भन्दै हानि तथा नोक्सानीको कोषबाट आर्थिक सहायताको लागि पहल गर्ने बताए ।

उनले भने, ‘जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय कोषको अधिकतम उपयोग गर्न र यस्तो कोषमाथिको अधिकार स्थापित गर्न विशेष प्रयत्न गरिने छ । जलवायु वित्तमा सहज पहुँचका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा पैरबी गरिने छ । जलवायु परिवर्तनको कारण पुगेको क्षतिबापत हानि तथा नोक्सानीको कोषबाट आर्थिक सहायता प्राप्त गर्न कूटनीतिक पहल गरिने छ ।’

यसको साथै, उनले औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न उद्योग र लगानीसँग सम्बन्धित कानुन प्रक्रिया तथा संरचनालाई समयानुकूल बनाएर लैजाने पनि बताए । उद्योगहरुमा चौथो पुस्ताको औद्योगिक अवधारणा उपयोग गर्न प्रोत्साहित गरिने पनि उनले घोषणा गरे ।


प्रतिक्रिया