भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न चाइना साउदर्न इच्छुक


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।
बिहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएका हुन् । ४० भन्दाबढी मुलुकमा सेवा दिँदै आएको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ ।
चीनको गौन्जाउबाट हाल काठमाडौंमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गर्नुभएको सुधारको प्रशंसा गरेको थियो ।
चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भने, ‘तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहान्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाईदा पुग्ने छ । तपाईंहरूको नियमित उडानले नेपाल र चीन दुबै मुलुकलाई फाइदा पुग्ने छ ।’
मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिने समेत प्रष्ट पारेका छन् ।
साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि त्यसबारेमा आफूलाई जानकारी गराउन अनुरोध गरेका थिए । त्यसैगरी द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने समेत उनले बताएका छन् ।