`

नेपाल टेलिकमका प्रबन्ध निर्देशकमा अर्याल नियुक्त

Nepal One HD २३ भदौ २०८१ २१:५४
अर्थ समाचार

काठमाडौँ, २३ भदौः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सङ्गीता पहाडी अर्याल नियुक्त हुनुभएको छ ।नेपाल सरकार, मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज उहाँलाई चार वर्षको पदावधि रहनेगरी कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिनुभयो ।

यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० साल असोज १७ को निर्णय (मा मन्त्रीस्तर) बमोजिम उहाँले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गर्नुभएको छ । उहाँले २०४९ चैत २३ गतेदेखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नु भई २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिनुभएको थियो । उहाँ २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त हुनुभएको थियो ।

पदभार ग्रहण गर्नुहुँदै प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पदको गरिमा र आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया