`

नेपाल पर्यटन बोर्डको बजेट चाँडो पारित गर्न पर्यटन बोर्डको ध्यानाकर्षण

Nepal One HD २६ भदौ २०८१ २१:१६
अर्थ समाचार

काठमाडौँ, २६ भदौः नेपाल पर्यटन बोर्डको बजेट चाँडो पारितगरी अन्तर्राष्ट्रिय पर्यटन मेलामा निजी क्षेत्रको सहभागिता सुनिश्चितता गरिनुपर्नेलगायत माग राख्दै नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले बोर्डको ध्यानाकर्षण गराएको छ ।

सङ्गठनका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा नेतृत्वको सङ्गठनको टोली आज बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीलाई भेटी बोर्डमार्फत सम्बोधन हुनुपर्ने विभिन्न विषय ध्यानाकर्षण गराएको हो । साथै सङ्गठनले सिइओ जोशीलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

व्यवसायीको ज्ञापन बुझ्दै सिइओ जोशीले बोर्डको बजेट चाँडो पास गरेर बोर्डका कामलाई गतिशील बनाउन सक्रिय ढङ्गले लाग्ने बताउनुभयो । उहाँले निजी क्षेत्रको साथ सहयोग र समन्वयलाई फराकिलो बनाएर पर्यटन प्रवर्द्धनका काममा क्रियाशील हुन सबैमा आह्वान पनि गर्नुभयो ।

बोर्डले प्राथमिकताका साथ गर्नुपर्ने बुँदागत काम कार्यान्वयनका लागि बोर्डको ध्यानाकर्षण गराइएको सङ्गठनका कार्यवाहक अध्यक्ष सापकोटाले बताउनुभयो । सङ्गठनले बोर्डको बजेट कार्यान्वयन, विश्वप्रसिद्ध पर्यटन मेलामा बोर्डमार्फत निजी क्षेत्रको सहभागिता, नयाँ पर्यटन बजारको पहिचान र प्रवद्र्धन तथा हवाई टिकट र पदयात्रामा लगाइएको कर हटाउन माग गरेको छ ।

यस्तै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को प्रभावकारी व्यवस्थापन, ‘नो ट्रेकिङ विदआउट गाइड/पोर्ट’ यथाशीघ्र लागू गर्नुपर्ने, विश्वबजारमा नेपालको प्रचारप्रसार गर्न बिबिसी, सिएनएनजस्ता प्रसिद्ध सञ्चारमाध्यममा नेपालको प्रचार गरिनुपर्ने, श्रमिक कल्याणकारी कोष कार्यान्वयन र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि पर्यटन बोर्डले नेतृत्वदायी भूमिका खेल्नुपर्नेलगायत माग रहेका छन् ।

प्रतिक्रिया