ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज


भोजपुर । ग्रामीण भेगसम्म सडक विस्तार भएपछि भोजपुरमा स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रूपमा पनि सक्षम बनेका छन् ।
सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाडौं पुगिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ ।
यहाँ उत्पादन भएका कृषिउपज किसानले काठमाडौं बाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बेच्दै आएका छन् । केही व्यापारी धानमकै किन्न घरखेतमा नै पुग्ने गरेको टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले बताए ।
जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादनको बजारीकरण पनि सहज भएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ ।
भोजपुरको लेगुवाबाट धनकुटा हुँदै धरान जोड्ने यो सडकमा नियमित रूपमा सार्वजनिक सवारीका साधन सञ्चालन भएपछि व्यापारीलाई पनि उद्यम गर्न सजिलो भएको छ ।