`

निर्वाह भत्ता सरकारी सरह नदिए प्रतिकारमा उत्रने आवासीय चिकित्सकको चेतावनी

Nepal One HD १७ पुष २०८१ २०:५२
जीवनशैली/स्वास्थ्य

काठमाडौं । आवासीय चिकित्सहरुले सरकारी सरह निर्वाह भत्ता नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले स्वास्थ्य मन्त्री प्रदीप पौडेल, शिक्षा मन्त्री विद्या भट्टराईसहित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनी कुमार झालाई ज्ञापन पत्र बुझाएर सरकारी सरह निर्वाह भत्ता नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले समितिसँग विगतमा गरेको सम्झौताविपरीत अन्य कुनै निर्णय गरेमा समितिसहित आवासीय चिकित्सकहरू सशक्त रूपमा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

समितिले आवासीय चिकित्सकहरुको निर्वाह भता सरकारी आठौं तहको मेडिकल अधिकृतको (वार्षिक १३ महिनाको) पारिश्रमिक बराबर हुने सुनिश्चित गराएर मात्र गैरसरकारी मेडिकल कलेजको इन्स्पेक्सन, सीट निर्धारण र प्रवेश परीक्षाको सम्पुर्ण प्रकृया अघि बढाइने निर्णय गरि सोको आधिकारीक जानकारी दिन माग गरेका छन् ।

समितिका अनुसार बुधबारसम्म देशभरका ४० वटा अस्पताल तथा शिक्षण संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट सामुहिक र संस्थागत रुपमा ऐक्यवद्धता आएको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा मन्त्री र आयोगका उपाध्यक्षले समितिको माग अनुसार काम अगाडि बढाउने प्रतिक्रिया दिएको समितिका संयोजक डा शेषराज घिमिरेले जानकारी दिए। उनले समितिसँग विगतमा गरेको सम्झौता विपरित अन्य कुनै निर्णय गरेमा समितिसहित आवासीय चिकित्सकहरुले सशक्त रुपमा प्रतिकारमा उत्रने जानकारी दिए ।


प्रतिक्रिया