`

नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह

Nepal One HD १५ फागुन २०८१ १५:५९
अर्थ समाचार

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताएका छन् ।

बिहीबार नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरूसँगको भेटमा उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरूको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले विदेशी लगानीकर्ताहरूका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे ।

उनले सरकारले निजी क्षेत्रका सरोकारहरूलाई सम्बोधन गरी विभिन्न कानुनहरू अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिए । फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्यालीलगायत एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री पौडेललाई भेटेका थिए ।


प्रतिक्रिया