`

कमिसन बढ्ने भएपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता

Nepal One HD २० फागुन २०८१ १७:४८
अर्थ समाचार

काठमाडौं । खाना पकाउने ग्यासको कमिसन बढ्ने भएपछि ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन् । मंगलबार सरकार र नेपाल एलपी ग्यास उद्योगबीच ग्यासको कमिसन मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको हो । यो सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

सरकार र उद्योगीबीच पाँचबुँदे सहमति भएको छ । नेपाल आयाल निगमकाअनुसार प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनि त्यो उपभोक्ताले तिर्नुपर्दैन ।

आयल निगमलाई अहिले प्रतिसिलिन्डिर ३३० रुपैयाँ घाटा रहेको छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट मेकप भइरहेको निगमले जनाएको छ । अहिले दैनिक रूपमा १ लाख सलिन्डिर बिक्री हुने गरेको निगमले जनाएको छ । उद्योगीसँगको सहमतिअनुसार बढेको मूल्य जोड्दा प्रतिसिलिन्डिर ३४२ रुपैयाँ ७५ पैसा घाटा हुनेछ । ग्यास उद्योगीहरुसँग भएको सहमतिअनुसार आन्तरिक र बाह्य ढुवानी भाडा समायोजन भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याहरु समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । उद्योगीका उपयुक्त मागहरु सरकारले प्राथमिकतामा राख्ने बताउँदै उनले सरकार सबैको हो भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया