प्राधिकरणको नेतृत्वले उद्योगीमाथि अत्याचार गरेको मन्त्री खड्काको आरोप


भैरहवा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।
शुक्रबार भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६६औँ वार्षिक साधारणसभामा मन्त्री खड्काले निजी क्षेत्र कमजोर भए सरकार बलियो हुन नसक्ने तर्क गर्दै सबै मिलेर मुलुक निर्माणमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
रुपन्देहीमा देखिएको ट्रङ्क लाइन र डेडिकेटेड फिडर लाइनको समस्याबारे कुरा गर्दै मन्त्री खड्काले प्रयोग गरेको बिजुलीको बिल उद्योगीले तिर्ने दायित्व रहेको तर झुठा विवरणकै आधारमा उद्योगीलाई बिल तिर्न लगाउनु अत्याचार भएको टिप्पणी गरे ।
‘सरकारको जिम्मेवार निकायमा बस्ने, झुठा विवरण पेस गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई किमार्थ स्वीकार्य हुँदैन’, उनले भने, ‘मलाई थाहा छ डेडिकेटेडका नाममा जसले त्यो प्रयोग नै गरेको छैन, उसलाई महशुल मात्र हैन हर्जानासमेत तिर्नुपर्छ भनेर बिल पठाइएको छ ।’
मन्त्री खड्काले रुपन्देहीकै २२ वटा उद्योग त्यही कारण समस्यामा परिरहेको भन्दै प्रयोग गरेको विद्युत यकीन गरी उद्योगीले बिल तिर्नुपर्नेमा जोड दिए । डेडिकेटेड लाइन नजिकैबाट गएका आधारमा मात्र बिल तिर्न लगाउनु अत्याचार र अन्याय भएकाले सरकारले यसको समाधान गर्ने उनले आश्वासन दिए ।