`

राजा फर्काउने राजावादीको क्रियाकलाप नियन्त्रण गर्न सरकारसँग माओवादीको माग

Nepal One HD २५ फागुन २०८१ १५:०९
प्रमुख खबर

काठमाडौँ । सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसदेखि दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौँलगायत मुलुकका केही सहरमा नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गरे ।

उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताए । मुलुकबाट बेतिथिको अन्त्य, महङ्गी नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार दृढतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो ।
नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले राजावादीको नाममा भइराखेको गतिविधि नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गराए

। उनले प्रश्न गरे, ‘यो संविधान विरोधी हर्कत, व्यवस्था विरोधी, संघीयता विरोध क्रियाकलाप जे छन् यो अराजकतालाई नियन्त्रण गर्न सरकार किन सकिरहेको छैन ?’

उनले राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने काममा लागेको भन्दै आपत्ति जनाए । उनले भने, ‘अढाइ सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने भन्दैछन् । जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् । संविधान विरोधी, व्यवस्था विरोधी हर्कत उनीहरुले गरिरहेका छन् ।’

सांसद शर्माले सरकारले राष्ट्रिय सहमति खोज्नुपर्ने बेलामा पनि त्यस्तो हुन नसकेको बताए । सांसद गोमादेवी तिमल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग नेतृत्वबिहीन भएको र कर्मचारीहरुले महिनौदेखि तलव नपाएको उल्लेख गरिन् ।

उनले तत्काल उद्योग सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले मुलुकका केही स्थानमा भएका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया