`

राजतन्त्र फर्किन्छ भन्ने डर छैन : जनार्दन शर्मा

Nepal One HD ६ चैत २०८१ १३:१८
प्रमुख खबर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किने सम्भावना नरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै शर्माले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको कारण राजतन्त्र फर्किने कल्पना नगर्न आग्रह गरेका हुन्।

आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमिकमजोरी सच्याउनसक्छौँ कि सक्दैनौँ भन्ने डर रहेको बताए।

उनले भने -‘वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्कँदैन। बरु समाजमा बाँकी राजतन्त्रात्मक सोच शैली प्रवृत्ति व्यवहार भने अन्त गर्नै पर्दछ । आफैँभित्रको राजतन्त्र अन्त गर्न लाग्नु आजको मुख्य काम हो। राजतन्त्र फर्किन्छ कि भन्दै अनावश्यक आशङ्कित हुन जरुरी छैन, होहल्ला गर्न जरुरी छैन।’

आज देशमा केही पनि भएन र देशमा केही पनि हुँदैन भन्ने जो भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले आपत्ति समेत जनाए ।

उनले भने -‘पूर्वाधारको दृष्टिकोण ले होस या मानव सूचकाङ्कका दृष्टिकोणले हाम्रा तथ्याङ्कहरूले स्पष्ट गर्दछन्, हिजो भन्दा गुणात्मक प्रगति भएकै छ । खानेपानी होस् चाहे विद्युत् क्षेत्र होस् सबैतिर सुधार भएको छ । त्यसलाई जनताका बिचमा स्थापित नगर्ने समस्या एकातिर छ भने अर्कोतिर नयाँ पुस्ताका सोच आवाज र आवश्यकतालाई बुझ्नमा समेत समस्या छ । ‘


प्रतिक्रिया