`

कुलमानका विषयमा प्रचण्डजीले भ्रम छर्नुभयोः प्रधानमन्त्री ओली

Nepal One HD १२ चैत २०८१ १७:४६
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोडसेडिङ वर्षौं लगाएर अन्त्य गरेको बताएका छन् ।

मंगलबार बालुवाटारमा सुजाता कोइरालाद्वारा लिखित ’म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभई वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताएका हुन् ।

कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे ।

उनले प्रश्न गरे, ‘कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि ? उ बेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो । पृथ्वीका मान्छेहरुलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरुमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । उहाँले नियुक्ति गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर आउनुभयो कि ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रुपमा, जादुको रुपमा व्याख्या गर्ने ? कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।’

त्यस्तै उनले बाहिरबाट खोजेर नल्याई त्यहींबाट अवकाशप्राप्त भइसकेको मान्छेलाई नियुक्ति गरेको भन्दै प्रचण्डले निस्कासन गरेर वा सरुवा भनेर अर्को ठाउँमा निकम्मा बनाएर राखिदिएको बताए ।


प्रतिक्रिया