`

कुलमानको बर्खास्ती बक्यौता उठाउन नदिने सरकारको उद्देश्यः माओवादी

Nepal One HD १३ चैत २०८१ १२:२२
प्रमुख खबर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको भन्दै आपत्ति जनाएको छ ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाइएको भन्दै आपत्ति जनाएका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय फिर्ता हुनुपर्ने भन्दै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कुरा छोप्न घिसिङलाई हटाइएको बताए । उनले घिसिङलाई हटाएर सरकार बिचौलियाको पक्षमा उभिएको बताए ।

सांसद बस्नेतले चार महिना सरकार टिकाउन सकिन्छ भन्ने आत्मविश्वास गुमाएकाले घिसिङलाई हटाइएको आरोप लगाए ।

उनले भने, ‘यो हदको मानमर्दन किन गर्यो ? सरकारलाई चार महिना पनि टिक्न सकिन्छ भन्ने विश्वास गुमाएकाले होला चार महिना अगावै सरकार विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई बर्खास्ती गर्ने निर्णयमा पुगेको छ ।’

उनले कुलमानको बर्खास्ती बक्यौता उठाउन नदिने सरकारको मुख्य उद्देश्य रहेको बताए । उनले भने,’कुलमानको बर्खास्ती बक्यौता उठाउन नदिने,माफियाहरूको स्वार्थ पूरा गर्ने,प्राधिकरणलाई बिचौलियाहरूको हातमा सुम्पिने खालको उद्देश्यमा छ भन्ने कुरा जनताले बुझेका छन्।’


प्रतिक्रिया