`

राजनीतिक प्रतिशोधको क्रम चलिरहे हेरेर मात्र नबस्ने रास्वपाको चेतावनी

Nepal One HD २३ वैशाख २०८२ १२:१०
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार राजनीतिक प्रतिशोध साँध्ने काममा लागेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद मनिष झाले सरकारले राजनीतिक प्रतिशोध साँध्नका लागि नेताहरूलाई पक्राउ गर्ने र बयान लिन थालेको भन्दै आपत्ति जनाएका हुन् ।

अख्तियारले पतञ्जली योगपीठको जग्गा हदबन्दी फुकुवा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग केही दिनअघि बयान लिएको थियो । सांसद झाले अध्यक्ष नेपालसँग यसरी बयान लिइनुपर्ने कुरा राजनीतिक प्रतिशोध भएको बताए ।

उनले भने, ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको, हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं। हाम्रो पार्टी सभापतिप्रति प्रतिसोध साँधियो, हालसालै रेशम चौधरीप्रति भयो। माधवकुमार नेपालको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं। अब के सीके राउतप्रति आक्रमण हुन्छ कि ?’

उनले यो सबै कुरालाई पार्टीले राजनीतिक प्रतिशोधको क्रमको रूपमा हेरिराखेको बताए । उनले अहिले राजनीतिक प्रतिशोधको क्रम चलिरहेको भन्दै त्यसलाई हेरेर मात्र सधैं चुप लागेर बस्न नसक्ने चेतावनी दिए ।

सांसद झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाए ।


प्रतिक्रिया