`

कर्मचारीको कुलिङ पिरियड २ वर्ष राखिने

Nepal One HD २ जेठ २०८२ ११:१४
प्रमुख खबर

काठमाडौं । संसदको राज्य व्यवस्था सुशासन समितिबाट निजामती सेवा विधेयक पारित भएको छ । शुक्रबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो ।

समितिमा निजामती कर्मचारीको कुलिङ पिरियड २ वर्ष राख्ने विषयमा सहमति भएको छ । त्यस्तै, निजामती कर्मचारीका अतिरिक्त सचिव राख्ने लगायतका विषयमा पनि सहमति जुटेको बताइएको छ । शुक्रबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्न सुझाव दिएका थिए ।

उनले दुई वर्षभन्दा बढाउँदा जनशक्तिको अभाव हुनक्ने बताएका थिए । यसअघि ‘कुलिङ पिरियड’का विषयमा कांग्रेस र एमालेबीच मतभेद थियो । कांग्रेस दुई वर्ष राख्नुपर्ने र एमाले एक वर्ष राख्नुपर्ने पक्षमा थिए ।

यस्तै निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष राख्ने विषयमा पनि सहमति भएको छ । यसअघि अवकाशको उमेर ५८ वर्ष थियो ।

निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।


प्रतिक्रिया