`

भविष्यको पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्छः पर्यटनमन्त्री पाण्डे

Nepal One HD १३ जेठ २०८२ १४:२३
राजनीति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको बताएका छन् ।

एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण आरोहीहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री पाण्डेले भने, ‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ।’

उनले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्याउने सबैप्रति विशेष सम्मान समेत व्यक्त गरे । ‘उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ,’ मन्त्री पाण्डेले भने ।

सरकार पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए ।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भने, ‘यी हिमालहरू पवित्र छन्, र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो।’


प्रतिक्रिया