प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित


काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच सहमति नजुट्दा आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् । बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत् राख्दै गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक बस्न नसक्ने निष्कर्ष निकालेका थिए ।
श्रम ऐन, २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन आयोग बनाउन प्रतिपक्षी दलले माग गरेका छन् । बैठकले माग पूरा नभएसम्म बैठक चल्न नदिने निर्णय गरेको थियो ।