`

सन्तोषनारायण श्रेष्ठको पहिलो नीति तथा कार्यक्रमः यस्ता छन् बोर्डका महत्त्वाकाङ्क्षी योजनाहरू

Nepal One HD ७ साउन २०८२ १९:३४
अर्थ समाचार

काठमाडौं। नेपाल धितो पत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलवार सेबोनले पुँजी बजारमा संरचनागत सुधार, कानुनी सबलीकरण, प्रविधिको स्तरोन्नति र बजारको दायरा विस्तार गर्ने लक्ष्यसहितको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

धितो पत्र बोर्डको अध्यक्षमा नियुक्त भएपछि सन्तोषनारायण श्रेष्ठको यो पहिलो नीति तथा कार्यक्रम हो । गत मङ्सिर १० गते श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको थियो । करिब ७ महिनादेखि बोर्डमा काम गरिरहेका अध्यक्ष श्रेष्ठले निकै महत्त्वाकाङ्क्षी नीति तथा कार्यक्रम अघि सारेका छन् ।

बोर्डले नियमन व्यवस्था तथा सुधार, कानुन तर्जुमा, कानुन प्रबलीकरण तथा कारबाही बजार निरीक्षण तथा सुपरिवेक्षण, लगानीकर्ता शिक्षा र अध्ययन तथा अनुसन्धानमा उल्लेख्य काम गरेको दाबी समेत गरेको छ ।

बोर्डले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलको स्वामित्वमा रहेको धितोपत्रको लकइन अवधि सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले हालको एक वर्षबाट दुई वर्ष बनाउने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

बोर्डले लगानीकर्ताको ट्रेडिङ्ग म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा बैङ्क खाता लिङ्क गरिने व्यवस्था लागू गर्ने समेत जनाएको छ । त्यस्तै बोर्डले दोस्रो बजारबाट सेयर खरिद गर्दा खातामा पर्याप्त रकम भए मात्र खरिद आदेश कार्यान्वयन गर्ने जनाएको छ ।

नीति तथा कार्यक्रममा धितो पत्र बोर्डको पुनर्संरचना गरी बोर्डमा राजस्व सचिव र डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाउने, विज्ञ सदस्य थप्ने, निजी क्षेत्र र अन्य मन्त्रालय निकायको प्रतिनिधित्व हटाउने योजना अगाडी सारेको छ । यसका साथै बोर्डले पुँजी बजारसम्बन्धी जनचेतना जगाई पुँजी बजारबाट वित्तीय साधन परिचालन गरी देशमा लगानी प्रवद्र्धन गर्ने, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने कुरा समेत नीति तथा कार्यक्रममा समेटेको छ ।

धितो पत्र कारोबारको लागि धितो पत्र व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने, जलविद्युत क्षेत्रका कम्पनीहरूलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक सेयर निष्कासन गर्न सक्ने व्यवस्था गर्ने, सरकारी संस्थानहरूमा सरकाले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गर्ने र निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेपाल स्टक एक्सचेञ्जको पुनः संरचना गर्ने नीति अघि सारेको छ ।

नेप्सेका अतिरिक्त अन्य संस्थाको पनि सेयर सहभागितामा धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने सिडिएस एण्ड क्लियरिंग लिमिटेडको पुनः संरचना गर्ने, निजी क्षेत्रका उत्पादनमूलक कम्पनीहरूलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न सहजता पुर्याउने गरी सेयर तथा बण्ड जारी गर्ने लागत घटाउने र प्रक्रिया सरलीकरण गर्ने, प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासनको लागि पारदर्शी विधि अवलम्बन गर्ने र प्राइभेट इक्विटि र भेन्चर्स क्यापिटलहरूमा विदेशी लगानी थप आउने गरी विशिष्टीकृत लगानी कोषसम्बन्धी नियमावली संशोधन गर्ने कार्यक्रमहरू नीति तथा कार्यक्रम राखिएको छ ।

यस्तै, धितो पत्र ऐनमा इक्विटी क्राउड फण्डिङको अनुमति दिन सक्ने गरी कानुनी व्यवस्था गर्ने, डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउने र पब्लिक कम्पनीको रूपमा स्थापना भई नेपालको धितो पत्र बजारमा सूचीकृत कम्पनीलाई अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच विस्तार गर्न नेपाल राष्ट्र बैङ्क र धितो पत्र बोर्डले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने कार्यविधि तर्जुमा गरी लागू गर्ने योजना पनि अगाडि सारेको छ ।

यस्तो छ बोर्डले सर्वाजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *