भारतको उत्तराखण्डमा भीषण बाढी, ४ जनाको मृत्यु, कयौँ मानिस बेपत्ता


काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । खीर गंगामा जलस्तर बढेपछि धराली भन्ने ठाउँमा ठुलो क्षति भएको हो ।
उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।
बाढी तथा पहिरोले कैयौँ होटल तथा होमस्टेमा समेत क्षति पुगेको छ । बाढी–पहिरोका कारण कैयौँ नागरिक सम्पर्कविहीन रहेको स्थानीयवासीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मंगलबार स्थानीय समयअनुसार दिउँसो २ बजे धरालीमा बाढी आएको हो । सो क्षेत्रका ६० देखि ७० जना सम्पर्कमा नरहेको भारतीय न्यूज च्यानल ‘आज तक’को अनलाइन संस्करणले जनाएको छ ।
बाढीले होटल, बजार र आवासीय घरसमेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेत्रमा अहिले उद्धार कार्य सुरु गरिएको छ । क्षतिको विवरण आउन केही समय लाग्ने अधिकारीहरूले जनाएका छन् ।