‘बम्पी’ आकाश जलवायु परिवर्तनले कसरी वायु अशान्ति बढाउँछ


सिटबेल्टको चिह्न बल्छ, ट्रेहरू हल्लिन्छन्, गिलासमा भएको पेय छचल्किन्छ ।
धेरै यात्रुका लागि हावाको अशान्ति असहज अनुभव हुन्छ । तर वैज्ञानिक प्रमाणहरूले देखाएअनुसार जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो समस्या अझ गम्भीर बनाउँदै लगेको छ ।
सन् २०२५ को अर्को तातो गर्मीमा यसबारे जान्नुपर्ने मुख्य कुराहरू यस्ता छन् ।
– अशान्ति किन महत्त्वपूर्ण छ –
उडानमा असुविधा बाहेक, अशान्ति हवाई दुर्घटनाको प्रमुख कारण पनि हो ।
आधिकारिक तथ्याङ्कअनुसार सन् २००९ देखि सन् २०२४ बीच अमेरिकी व्यावसायिक उडानमा दुई सय सात जना घाइते भएका थिए । यद्यपि केही चर्चित घटनाले यस विषयलाई बढी चर्चामा ल्याएका छन् ।
उदाहरणका लागि, गत वर्ष एयर युरोपाको उडानमा ४० जना घाइते भए भने सिङ्गापुर एयरलाइन्सको उडानमा एक वृद्ध यात्रुको मृत्यु भयो र धेरै घाइते भए ।
सेन्ट थोमस विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङका प्राध्यापक जोन अब्राहमले भनेका छन्, “सामान्यतया संरचनात्मक क्षति हुँदैन । बेल्ट बाँधेका यात्रु वा केबिन क्रूमै चोटपटक लाग्छ ।”
उनका अनुसार, आधुनिक विमान अशान्ति सहन सक्छन्, त्यसैले प्रमुख जोखिम विमानको क्षति नभई यात्रुहरूको चोटपटक हो ।
“तर अझै पनि, ‘गम्भीर’ अशान्ति भोगेपछि विमान जाँच गर्नैपर्छ । यसमा गुरुत्वाकर्षण बलको करिब १.५ गुणा असर पर्छ, जुन अमेरिकामा वर्षमा करिब पाँच हजार पटक हुन्छ”, नेसनल सेन्टर फर एटमोस्फेरिक रिसर्चका वरिष्ठ वैज्ञानिक रोबर्ट शर्मनले भनेका थिए ।
अब्राहमका अनुसार पाइलटहरूले उचाइ परिवर्तन गर्न, मार्ग बदल्न वा गति घटाउनुपर्ने भएकाले अशान्तिले इन्धन खपत पनि बढाउँछ ।
– जलवायु परिवर्तनले यसलाई कसरी बिगार्दैछ –
बेलायतको युनिभर्सिटी अफ रिडिङका वायुमण्डलीय वैज्ञानिक मोहम्मद फौदादका अनुसार अशान्तिका तीन प्रमुख प्रकार छन्ः कन्भेक्टिभ, माउन्टेन वेभ र क्लियर–एयर टर्बुलेन्स ९क्याट०।
कन्भेक्टिभ टर्बुलेन्स बादल वा आँधीबेहरीसँग सम्बन्धित छ । जुन दृश्यात्मक रूपमा वा राडारले पत्ता लगाउन सक्छ । पर्वत शृङ्खलामा हुने अशान्ति भने माउन्टेन वेभसँग सम्बन्धित हुन्छ ।
तर क्याट अदृश्य हुन्छ, त्यसैले सबैभन्दा खतरनाक मानिन्छ ।
क्याट प्रायः जेट स्ट्रिमबाट उत्पन्न हुन्छ– माथिल्लो वातावरणमा पश्चिमतर्फ तीव्र गतिमा बहने हावा, जसमा व्यावसायिक विमानहरू करिब १०र१२ किलोमिटर उचाइमा उड्छन् ।
जलवायु परिवर्तनले उष्णकटिबन्धीय क्षेत्रहरूलाई उच्च अक्षांशभन्दा छिटो तताइरहेको छ । यसले तापमान अन्तर बढाउँछ, जसले जेट स्ट्रिमको गति र हावाको गतिलाई बढाउँछ, अनि क्याटलाई ट्रिगर गर्ने अवस्था बनाउँछ ।
फौदाद र उनका सहकर्मीहरूले सन् १९८० देखि सन् २०२१ सम्मको डाटा अध्ययन गरेर गत वर्ष ‘जर्नल अफ जियोफिजिकल रिसर्चः एटमोस्फियर्स’ मा प्रकाशित पेपरमा लेखेका छन् , “हामीले उत्तरी अटलान्टिक, उत्तरी अमेरिका, पूर्वी एसिया, मध्यपूर्व र उत्तरी अफ्रिकासहित धेरै क्षेत्रमा अशान्ति बढेको देख्यौँ ।”
उनका अनुसार अशान्ति ६० देखि १५५ प्रतिशतसम्म बढेको छ । थप विश्लेषणले यसलाई हरितगृह ग्यास उत्सर्जनसँग जोडेको छ ।
– अब के हुन्छ
युनिभर्सिटी अफ रिडिङकी शोधकर्ता इसाबेल स्मिथको नेतृत्वमा सन् २०२३ को अध्ययनले सतह तापक्रम प्रत्येक एक डिग्री सेल्सियसले बढ्दा उत्तरी अटलान्टिकमा जाडोमा मध्यम क्याट करिब नौ प्रतिशतले र गर्मीमा १४ प्रतिशतले बढेको पत्ता लगायो ।
जाडो ऐतिहासिक रूपमा अशान्तिको मौसम भए पनि अहिले गर्मी र शरद ऋतुमा पनि क्याट बढ्दै छ ।
जलवायु परिवर्तनले जेट स्ट्रिम मात्र नभई बलिया आँधीबेहरी पनि बढाइरहेको छ ।
शर्मनले भनेका छन्, “भविष्यमा आँधीबेहरीको आवृत्ति र तीव्रता दुवै बढ्न सक्छन् र आँधीबेहरी नजिकको अशान्ति दुर्घटनाको प्रमुख कारण हो ।”
समाधानका हिसाबले, फौदाद हाल दुई अध्ययनमा संलग्न हुनुहुन्छ, अशान्ति बढी हुने क्षेत्रबाट टाढा उडान मार्ग अनुकूलन गर्ने र पूर्वानुमानलाई अझ शुद्ध बनाउने ।
केही एयरलाइन्सहरूले केबिन सेवा पहिला नै समाप्त गर्ने जस्ता यात्रुहरूका लागि सधैँ सिटबेल्ट बाँध्ने रणनीति अपनाइरहेका छन् ।
शर्मनका अनुसार, जहाजमा लिडार जडान गरेर हावाको घनत्व र गतिमा साना परिवर्तन पत्ता लगाउने प्रविधि परीक्षण हुँदैछ ।
तर अन्ततः हरितगृह ग्यास उत्सर्जन घटाउनु नै दीर्घकालीन समाधान भएको फौदादले बताएका छन्।
मानवजन्य तापक्रमको करिब तीन दशमलव पाँच प्रतिशतका लागि उड्डयन क्षेत्र जिम्मेवार छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनका अनुसार प्रगति ‘धेरै ढिलो’ भए पनि एयरलाइन्सहरूले सफा इन्धन प्रयोग गरेर आफ्नो प्रभाव घटाउने प्रयास गरिरहेका छन् ।