`

सुन धितो लिएर पैसा ब्याजमा लगाउँथे पौने चार करोडसहित समातिएका विनोद

Nepal One HD १७ भदौ २०८२ १८:०६
समाचार

काठमाडौं । काठमाडौँको गंगबुमा पौने चार करोडसहित पक्राउ परेका गोरखाका विनोदकुमार श्रेष्ठले मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको खुलेको छ । काठमाडौंको गोंगबुमा प्रहरीले छापा मारेर करिब तीन करोड ७५ लाख रकम बरामद गरेको हो । मंगलबार दिउँसो काठमाडौं महानगरपालिका–२६ गोंगबुमा रहेको एक घरबाट उक्त रकम बरामद भएको एसएसपी शेखर खनालले बताए ।

प्रहरी पुगेको घर गोरखाका ७६ वर्षीय विनोदकुमार श्रेष्ठको हो । ‘अहिलेसम्म रकम गन्दा करिब ३ करोड ७५ लाख भन्ने छ । यकिन विवरण अझै आउन बाँकी छ,’ उनले भने, ‘गहना पनि बरामद भएको छ । तौल लिन बाँकी छ ।’ गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पुगेको थियो ।

त्यहाँ पुगेर अहिले बैंकबाट पैसा गन्ने मेसिन पनि ल्याएको छ । प्रहरीले घरधनी विनोद कुमारलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । विनोद कुमारले सुनका गरगहना धितो लिएर अनुचित लाभ लिने गरेको प्रहरीको आरोप छ । ‘प्रारम्भिक अनुसन्धानमा उनले गहना लिएर अनुचित रूपमा ब्याजमा लगानी गर्ने बुझिएको हो,’ एसएसपी खनालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *