लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जीएसआइ’ मा समर्थन गरेका छैनौं : प्रधानमन्त्री

प्रमुख खबर

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् । यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको स्पष्ट गरे ।
ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताए । प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जीएसआइ) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट गरे ।
‘एमालेप्रति जनताको विश्वास बढेको छ’
अध्यक्ष ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रीय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको बताएका छन् । अध्यक्ष ओलीले कोहीकसैसँग सम्झौता नगरी देश र जनताका पक्षमा उभिएकाले पार्टीप्रति आमजनताको विश्वास बढेको बताए । ‘नेपाली जनताले अप्ठ्यारो परिस्थितिमासमेत हामीलाई साथ दिएका छन्, नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिप्रति सदैव प्रतिबद्ध छौँ, भएन भन्न सजिलो छ, लामो बलिदानिमार्फत यहाँसम्म आइपुगेका छौँ, हामी उज्ज्वल भविष्यका लागि मिसन ८४ को अभियानमा छौँ’, उनले भने ।
एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले हामी सरकारमा छौँ, जनताकाबीच पुगी अझ विश्वास जित्न सक्यौँ भने ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन । जनताकामाझ गई सक्रिय भएर काम गरौँ ।’
‘सामाजिक न्याय र समानताका लागि हामी अभियानकर्मी हौँ, समाजमा परिवर्तन भएको छ, सामाजिक न्याय, समानता र विकासको अवस्था हिजोको जस्तो छैन, हाम्रो लक्ष्य समाजवादतर्फ हो, अपेक्षा गरिएजस्तो विकास भएको छैन होला, त्यसैले त परिवर्तनकारी हस्तक्षेप गर्दै हिँडेका छौँ, देशमा परिवर्तन ल्याउनका लागि हिँडेका हौँ’, उनले भने ।
अध्यक्ष ओलीले भने, ‘हामी निर्णायक राष्ट्रिय शक्तिका रुपमा पुगेका छौँ, हाम्रो नीतिहरु नै राष्ट्रिय नीति हुन्, आज नेता तथा आमकार्यकर्ताले नेतृत्वप्रति विश्वास गरेका छन् । एमाले पार्टीमा ठूलो जमात महिलाको छ र पार्टीलाई जोगाउने काममा महिला साथीहरूको भूमिका विशेष छ । सबै मिलौँ, पार्टीलाई अझ सुदृढ, सशक्त र लोकप्रिय बनाऔँ ।’ उनले पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्न सक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट