एमाले विधान महाधिवेशन : सकियो समूहगत छलफल

नेकपा एमाले

काठमाडौं । हिजो (शुक्रबार) देखि जारी सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गतको समूहगत छलफल आज (शनिबार) सकिएको छ । २,१२६ प्रतिनिधिलाई नौ वटा समूह बनाएर अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथी छलफल गराइएको थियो ।
समूहमा धेरैलाई बोल्न दिइएन । यस्तै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत प्रस्तुत गर्न नदिइए पनि प्रतिनिधिलाई वितरण भने गरिएको छ । अहिले ९ वटै समूहको छलफल सकेर भित्र सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ । अब प्रतिनिधिहरूले दिएको सुझावलाई भोलि बस्ने बैठकमा समूह संयोजकले प्रस्तुत गर्नेछन् । प्रतिवेदनमाथि मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहगत छलफल गरेका थिए ।
त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना, केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिएको थियो । एमालेको शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन सुरु भएको हो ।
प्रचार विभाग प्रमुख गौतमले आज छलफल सकेर भोलि प्रतिवेदन समूहगत नेताले प्रस्तुत गर्ने बताए । उनले समूहगत रूपमा आएका प्रतिवेदनमाथि आएका सुझावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने जानकारी दिए । उनले समसामयिक प्रस्ताव पारित गरेर भोलि महाधिवेशन सम्पन्न हुने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट