एमालेको विधान महाधिवेशनमा टोली नेताको ‘रिपोर्टिङ’ : तत्काल ओलीको विकल्प छैन


काठमाडौं । ललितपुरको गोदावरीमा जारी सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन अहिले समूहगत प्रस्तुतीकरण जारी छ । महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि नौवटा समूहले प्रतिनिधिका सुझावसहितको प्रस्तुतीकरण गरिरहेका छन् । कोशी प्रदेश र सुद्ररपश्तिम प्रदेशको प्रस्तुतीकरण भर्खरै सकिएको एक नेताले जानकारी दिएका छन् । कोशी र सुदूरपश्चिमपछि मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिनेछन् ।
सुझावका क्रममा समूहका नेताले भावी अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । आइतबार बिहान सनराइज सभाहल गोदावारी, ललितपुरमा पेश गर्दै समूहगत नेताहरुले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरूमा केही सुझावसहित निष्कर्ष सुनाइरहेका छन् ।
प्रतिवेदन पेश गर्दै सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘प्रस्तुत प्रतिवेदनमा पूर्ण सहमति छ । अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निश्कर्ष हाम्रो समूहको ठहर हो ।’ त्यस्तै कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले भने, ‘अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय हो । पार्टी भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन ।’ लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् । त्यसैगरी गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पुर्याउन प्रतिवेदनहरुले प्रष्ट दिशा निर्देश गरेको बताए ।
बागमतीका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले समर्थन गरेको र केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको बताए । ढुंगेलले भने, ‘चीन भ्रमणका क्रममा लिपुलेक बारे चीनका राष्ट्रपतिसँग आफ्नो अडान राखेकाले राजनेता केपी शर्मा ओलीलाई हाम्रो समूहको तर्फबाट उच्च सम्मान गर्नुपर्छ भन्ने मत छ ।’
मधेश प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने बताए । ‘पार्टीमाथि देशी-विदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्व स्थापित गर्नका लागि आगामी महाधिवेशनबाट पुनः नेतृत्व दिनु पर्छ’, उनले भने ।
कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेश गर्नु भएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरे । खतिवडाले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति र संबैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनु पर्दछ ।’
समूह नेताले आ–आफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गर्ने तयारी छ ।
यो विधान महाविधेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरिएका छन् । त्यस्तै केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा। विजय सुब्बाले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन् ।