`

नेकपामा समाहित नहुने विघटित नेकपा एस कैलालीको निर्णय

Nepal One HD ११ मंसिर २०८२ १३:४३
प्रमुख खबर

कैलाली । कैलालीमा विघटित नेकपा समाजवादी (एस) को जिल्ला कमिटीले माओवादी केन्द्रलगायत १२ घटक मिलेर निर्माण भएको नयाँ नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ मा समाहित नहुने निर्णय गरेको छ । जिल्लाका अध्यक्ष, सचिव र उपसचिवले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट घोषणा गरेका हुन् ।

धनगढीमा भोलि आयोजित ‘एकता सन्देश सभा’ को पूर्व सन्ध्यामा आएको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा थप चर्चा पैदा गरेको छ । प्रचण्ड र माधवकुमार नेपाल उपस्थित रहने उक्त सभालाई केन्द्रय राजनीतिक महत्वको रूपमा हेरिएको छ ।
१२१ सदस्यीय जिल्ला कमिटीमध्ये ९१ जना उपस्थित बैठकले एकमतले नयाँ नेकपामा नजाने निष्कर्ष निकालेको अध्यक्ष विमलकुमार जोशीले बताएका छन् । उनका अनुसार प्रचण्ड र केपी शर्मा ओलीले विगतमा जस्तै एकता–विघटनको खेल दोहो¥याउँदै कम्युनिष्ट आन्दोलन नै क्षय भएको महसुस भएकाले आफूहरू सहभागी नहुने निर्णयमा पुगेका हुन् ।

जोशीले वास्तविक कम्युनिष्ट आन्दोलन जोगाउन इच्छुक पक्षसँग सहकार्य खुला रहने संकेत दिए । उनीहरूद्वारा जारी विज्ञप्तिमा १३ दल सहभागी भएको अहिलेको एकतालाई अर्थहीन बताउँदै, सहभागी पक्षहरूलाई न आधारभूत संगठन रहेको न त एकीकृत वैचारिक दिशानिर्देश रहेको टिप्पणी गरिएको छ ।

विज्ञप्तामा नयाँ नेकपा ‘शाहीकालका मन्त्रीदेखि विविध जातीय–क्षेत्रीय मुद्दा उठाउने तथा गैर–कम्युनिष्ट धारणा बोकेका समूहहरूको मिश्रण’ भएको आरोप लगाइएको छ । प्रचण्ड–नेपाल नेतृत्वले कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाइरहेको निष्कर्षसमेत उल्लेख छ । जिल्ला कमिटीको बैठकले एमाले समेत केपी ओलीको नेतृत्वमा ‘विसर्जनतर्फ धकेलिएको’ ठहर गर्दै कम्युनिष्ट सिद्धान्तमा आधारित नयाँ पुनर्गठन प्रक्रियामा लाग्न आह्वान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *