`

घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकताको सहमति, चुनाव चिन्ह हँसिया

Nepal One HD ११ मंसिर २०८२ १४:०७
प्रमुख खबर

काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) औपचारिक रूपमा एकीकृत भएका छन् । दुवै पक्षका शीर्ष नेताहरूले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी गठन तथा आगामी राजनीतिक अभियानबारे संयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

सहमतिअनुसार एकीकरणपछि गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी संयुक्त’ रहनेछ । चुनाव चिन्हका रूपमा हाल नेकपा (संयुक्त) प्रयोग गर्दै आएको हँसियालाई निरन्तरता दिने निर्णय गरिएको छ । त्यस्तै झण्डामा परम्परागत कम्युनिष्ट प्रतीकसहित बौद्धिक श्रमको प्रतिनिधित्व गर्ने संकेत थपिने बताइएको छ ।

नेताहरूका अनुसार केही दिनमै औपचारिक एकता घोषणा कार्यक्रम सम्पन्न गरिने छ भने दुई महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्ने सहमति जुटेको छ । अबदेखि पुनर्गठन अभियान पनि नयाँ पार्टीकै ब्यानरबाट सञ्चालन हुनेछ । सहमति पत्रमा दुवै पक्षले माक्र्सवाद–लेनिनवादका सिद्धान्त, मानव जातिले हासिल गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरू तथा वैज्ञानिक समाजवादको लक्ष्यलाई मार्गदर्शक बनाउँदै कम्युनिष्ट आन्दोलनलाई आधुनिक रूपले विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्व साम्राज्यवाद, वित्तीय पुँजीवाद र त्यसले सिर्जना गरेका असमानता, शोषण, विभेद र युद्धविरुद्ध अन्तर्राष्ट्रिय एकता र प्रगतिशील मूल्यहरूको पक्षमा उभिने उल्लेख छ । साथै, दलाल पुँजीवादको स्थानमा राष्ट्रिय पुँजी विस्तार, १०–१२ वर्षभित्र सबै नेपालीका लागि रोजगारी सुनिश्चित गर्ने, भ्रष्टाचार तथा अपारदर्शिताको अन्त्य गर्दै सुशासन स्थापना गर्ने र समाजवादको आधार निर्माणलाई आगामी सम्मेलनले ठोस कार्यभारका रूपमा अघि सार्ने प्रतिबद्धता पनि सहमति–पत्रमा समावेश गरिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *