`

जेनजी अगुवा भावना राउतको टिप्पणी : ओली सरकार र नागरिक सरकारबीच केहि फरक देखिनँ

Nepal One HD १२ मंसिर २०८२ १३:५४
प्रमुख खबर

काठमाडौं । जेन–जी आन्दोलनकी अगुवा भावना राउतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकारमाथि गम्भीर असन्तुष्टि प्रकट गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा २७ भदौको राति १० बजे प्रधानमन्त्री कार्कीले शपथ लिँदा थोरै निम्त्याइएका व्यक्तिमध्ये राउत पनि एक थिइन् । शपथको पहिलो दिनमै कार्कीले व्यक्त गरेको प्रतिबद्धता अहिले बिस्तारै खोसिँदै गएको उनको भनाइ छ ।

राउतले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै जेन–जी आन्दोलनले बलिदान र त्याग गरेर जन्माएको नागरिक सरकार पनि पुराना प्रवृत्तिद्वारा कैद हुन थालेको आरोप लगाएकी छन् । आन्दोलनमा शहीद भएका युवा–युवतीको रगत अझै सडकमै तातो छँदै सरकारले उनीहरूका आकांक्षा विपरीत कदम चालेको उनको टिप्पणी छ । ‘हामी व्यक्तिबाट होइन, प्रवृत्तिविरुद्ध लडिरहेका छौ’, भन्दै उनले राज्यले सार्वजनिक रूपमा आलोचित र विवादित पात्रलाई ‘चोख्याउने’ अभ्यास सुरु गरेको आरोप लगाइन् ।

बाहिर उठिरहेका आवाजप्रति प्रधानमन्त्रीले बेवास्ता गरिरहेको उनले आरोप लगाएकी छिन् । ‘यदि ‘म नै म’ भन्ने अहंकार चलिरहने हो भने ओली सरकार र नागरिक सरकारमा खासै फरक देखिनँ’, राउतले भनेकी छन् । न्यायको प्रतिमूर्ति भनेर सम्मान गर्दै आएको कार्की अहिले विवादित बन्ने संकेत देखिँदा आफूलाई डर लागेको राउतले खुलाएकी छन् । उनले शहीदको रगतलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न चेतावनी समेत दिएकी छन् ।

न्यायमूर्ति पृष्ठभूमिकी कार्की प्रधानमन्त्री बनेपछि हजारौँ युवाले आशा बोकेर आफूहरू ढालझैं उभिएका थिए तर अहिले पहिलो पटक ‘हारिएको’ महसुस भएको राउतको गुनासो छ । आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही गर्ने भनिएको प्रतिज्ञा बिस्तारै हराउँदै गएको, मन्त्रिपरिषद् विस्तारमा विवादित नामहरू जोडिन थालेको, महिलाको आवाज समेट्ने आफ्नो निरन्तर आग्रह अस्वीकृत भएको भन्दै उनले प्रधानमन्त्रीमाथि ‘कसको प्रभाव चलिरहेको छ’ भन्ने प्रश्न समेत उठाएकी छन् ।

‘पहिलो महिला प्रधानमन्त्रीको नेतृत्वमा नागरिक सरकार आएको बेला वर्षौंदेखि दबिएका महिला आवाजलाई उठाउन म निरन्तर जुटिरहेँ । तर ठूलो स्वार्थ समूहले त्यो आवाज दबाइदियो’, उनले लेखेकी छन् । इतिहासले आफूहरूले सहेका चोट, पचाएका पीडा र थामेका सपना सम्झने दिन आउने उल्लेख गर्दै उनले अहिले भइरहेको गतिविधि ‘गलत दिशातर्फ’ लागिरहेको चेतावनी दिइन् । राउतले आग्रह गर्दै भनेकी छन्, ‘नागरिक सरकार फेरि पनि स्वार्थी समूहको हातमा नपरोस्, इतिहासले यसलाई ‘एक व्यक्तिको स्वार्थले चलाएको सरकार’ भनेर नलेखोस् ।’ सरकारबाट फेरि धोका भए यो पुस्ता दोब्बर आशा लिएर उठ्न सक्ला–नसक्ला भन्नेमा आफू विश्वस्त नभएको उनको भावुक टिप्पणी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *