१६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनु पर्छ : वामदेव गौतम
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनु पर्ने माग गरेका छन् । आज (बुधवार) सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अमेरिकासहितका अन्य देशहरुमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए । यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानूनी प्रावधान जरुरी रहेको बताए ।
नेपाली युवाहरु विश्वभर छरिएका र उनीहरुले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिनसक्ने वातावरण बनाउनु पर्ने बताए । उनले भने, ‘हाम्रो करिव ६० लाख युवाहरु संसारभर बाँडिएका छन् । उनीहरुले यति पैसा कमायौं भनेर पैसा पठाउँछन् । उनीहरुको श्रमशक्ति ठूलो संख्याको श्रमशक्तिबाट प्राप्त गर्दछन् । जसले उनीहरुलाई रोजागरी दिन्छ । रोजगारी हामीले भन्छौँ, एउटा ठूलो अवसर हो ।’
उनले भने, ‘यहाँ ल्याइसकेपछि त्यो पैसाको बदलामा कि त काम दिनुपर्छ । ऋणमाथि ऋण थुपारेर सरकारले प्रयोग गर्ने । देश विकास गर्ने हो भने काम गर्नसक्ने व्यक्ति १६ वर्षदेखि काम गर्नसक्छ । कानून नै बनाउनु पर्छ । कानूनमा १८ वर्ष पुगेपछि काम गर्न पाउने कानून छ । १६ वर्षमा काम गर्न सक्छन् । अमेरिकामा सक्छ, अरु देशमा सक्छन् । नेपालमा १८ वर्ष लगाउनु पर्छ ? दुई वर्ष काम बिहीन हुने । १६ वर्षकोले पनि काम गर्न पाउने कानून बनाउनु पर्छ ।’ उनले ऋणमाथि ऋण थुपार्ने भन्दा सरकारले रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताए । –न्युज एजेन्सी नेपाल
