`

विद्युत् माग्दै मुगुका युवाले ऊर्जामन्त्री घिसिङलाई दिए ‘दियालो’ उपहार

Nepal One HD २४ मंसिर २०८२ १६:२५
प्रमुख खबर

काठमाडौं ।  मुगुका स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई झरो दियालो उपहार दिएका छन् ।

कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । ऊर्जामन्त्री घिसिङलाई प्रतीकात्मक रुपमा झरो दियालो उपहार दिएर युवाहरूले स्थायी विद्युत् सुविधा माग गरेका छन् ।
युवाहरूका अनुसार मुगुमा करिब ७० हजार जनसंख्या छ । ७० हजार जनसंख्यामध्ये सुचारु रूपमा विद्युत् सेवा पाउन सक्ने संख्या केवल करिब ३५ सयमा सीमित छ ।

अधिकांश नागरिकहरू प्रविधिक युगमा पनि सल्लोको काठ, मैनबत्ती र अस्थायी उज्यालोमा जीवन गुजार्न बाध्य रहेको भन्दै उनीहरूले ऊर्जामन्त्री घिसिङको ध्यानाकर्षण गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा उनीहरूले मुगुको विद्युतिकरण केवल पूर्वाधार विकासको विषय नभई सामाजिक न्याय, मानव विकास र राष्ट्रिय समावेशीकरणसँग जोडिएको मुद्दा भएको उल्लेख गरेका छन् ।

युवाहरूले मुगुको विशाल भूभाग अझै राष्ट्रिय ग्रिडसँग जोडिन नसक्नु, आपूर्ति अस्थिर हुनु र वितरण संरचना कमजोर रहनु मुख्य चुनौती भएको लेखेका छन् ।

विद्यालयदेखि अस्पतालका उपकरण, सञ्चार डिजिटल सेवा, स्थानीय उद्योग, कृषि प्रशोधन जस्ता सबै क्षेत्रमा विद्युत् आपुर्ति हुनुपर्ने उनीहरूको माग छ ।

ध्यानाकर्षण पत्रमा मुगु जिल्लालाई विशेष विद्युतिकरण प्राथमिकता क्षेत्र घोषणा गर्न, १०० प्रतिशत विद्युत् पहुँचको स्पष्ट समयसीमा सार्वजनिक गर्न, दिगो तथा विश्वसनीय वितरण संरचना निर्माणका लागि विशेषज्ञ टोली तत्काल परिचालन गर्न तथा राष्ट्रिय ग्रिडसँग स्थानीय वैकल्पिक ऊर्जा स्रोतलाई एकीकृत गर्दै दीर्घकालीन समाधान अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।

२२ औँ शताब्दीको नेपालमा पनि मुगु अँध्यारोमै छ भन्ने सन्देश दिन युवाहरूले ऊर्जामन्त्री घिसिङलाई झरो दियालो उपहार दिएका हुन् ।

जवाफमा मन्त्री घिसिङले एक वर्ष भित्रमा मुगुलाई उज्यालो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *