`

एमाले अध्यक्ष ओलीको उपस्थितिमा ‘नेशनल प्रेस क्लव नेपाल’ घोषणासहित अन्तरक्रिया

Nepal One HD २४ मंसिर २०८२ २०:४२
प्रमुख खबर

काठमाडौं । ‘नेशनल प्रेस क्लव नेपाल’ ले आज काठमाडौंमा ‘संकटमा सञ्चारको भूमिका’ विषय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । क्लवको औपचारिक घोषणा कार्यक्रममा निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्लवले आजको आवश्यकता अनुसार निष्पक्षताको नयाँ संकल्प अनुसार अगाडि बढ्नु पर्ने शुभकामना दिएका छन् ।

अध्यक्ष ओलीले सँस्कृति, सभ्यता, भाषा र राष्ट्रियताको गरिमा जोगाउने काम सञ्चारमाध्यमहरुले गर्नुपर्ने बताए । उनले सबैलाई चाहिएको शान्ति भएकाले सञ्चारमाध्यमले शान्तिका पक्षमा वकालत गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले यस क्लवको प्रारम्भले एउटा असल चिन्तन, मननको सुरुवात गरेको समेत बताएका छन् । कार्यक्रमका वक्ता विजय पौडेलले नेपालका हरेक राजनीति, सामाजिक आन्दोलनहरुमा सञ्चारमाध्यमहरु सँगसँगै रहेको बताएका छन् । उनले आन्दोलनका बेला सञ्चारमाध्यमहरु दल र राजनीतिसँगै हिंडे पनि एक समय आफ्नो ठाउँमा फर्किनु पर्ने बताए । उनले तर, नेपालका सञ्चारमाध्यमहरु आन्दोलनपछि आफ्नो भूमिकामा नआएको बताए।

उनले नेपालका सञ्चारमाध्यमहरु ‘आठौं’ दलका रुपमा रमाएको समेत बताए । उनले सञ्चारमाध्यमहरु राजनीतिक दलहरुको वरिपरि घुम्दा जनतासम्म जान नसकिरहेको बताए । उनले नेपालको सञ्चारमाध्यहरु आफ्नो भूमिकामा नबसी राजनीतिक दलहरुसँग काँधमा काँध मिलाएर हिंड्ने मात्र काम गरेको बताए । उनले सञ्चार माध्यमहरुले राजनीतिक दल, आन्दोलन, राजनीतिक दलहरुको कुरामा मात्र केन्द्रित भएको बताए । अन्य धेरै क्षेत्रहरु व्यवसायिक बनिसक्दा पनि सञ्चारमाध्यमहरु अझै व्यवसायिक बन्न नसकेको उनले टिप्पणी गरेका छन् ।

कार्यक्रममा पत्रकार मातृका पौडेलले सञ्चार माध्यमहरुको काम व्यवस्थाको नभई अवस्थाको मात्र वकालत गर्ने रहेको बताएका छन् । पत्रकार पौडेलले सञ्चारमाध्यमहरुले सबै क्षेत्रलाई ठाउँ दिन सक्दा मात्र जनताले विश्वास गर्ने बताए । उनले संकटको अवस्थामा नागरिकले सञ्चारमाध्यमबाट सूचना खोज्ने र संकटकै अवस्थामा जनता मिडियामाथि खनिने अवस्था रहेको समेत बताए । अहिले पनि संकटको बेला सञ्चारमाध्यमले कसैको साथ नपाउने अवस्था रहेको बताए ।

कार्यक्रममा रेडियो क्षेत्रमा लामो अनुभव बोकेका प्रभात रिमालले नेपालमा एमफएम रेडियोहरुको उदय एक प्रकारको ‘रेभुलेसन’ नै रहेको बताए । देशमा रेडियोको क्रान्ति विशेष गरेर एफएम रेडियोहरुको सुरुवातसँग संकटमा अगाडि बढेको बताए । सुरुमा रेडियोहरुमाथि समाजले विभिन्न आरोपहरु लगाएको उनले सुनाए । उनले रेडियोहरुमाथि समाज विगारे, भाषा विगारे, साहित्य बिगारे र समाज भाँडे भन्ने खालको आरोपहरु आएको उनले अनुभव सुनाए । उनले आफूहरुले समाजबाट प्राप्त प्रतिक्रियाहरुलाई लिएर ‘सेल्फ सेन्सरसिप’ लागू गर्दै अगाडि बढेको बताए । जनताको प्रतिक्रियालाई लिएर रेडियोले प्रशारण गर्ने हरेक कार्यक्रमहरुमा सेन्सरसिप लागू गरेपछि रेडियो लोकप्रिय भएको र जनताको घरघरमा पुगेको रिमालले बताए ।

कार्यक्रममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सञ्चारमाध्यमहरुले घटनाहरुले अध्ययन, विश्लेषण गरेर मात्र जनता समक्ष पुर्‍याउनु पर्ने बताएका थिए । उनले हचुवाका भरमा सञ्चारमाध्यमहरुले सूचना संप्रेषण गदा नागरिकमा भ्रम मात्र फैलिने नभई सञ्चारमाध्यमहरु समेत असुरक्षित हुनुपर्ने अवस्था आउने बताएका थिए । उनले सञ्चारमाध्यमहरुले गलत भाष्य सिर्जना गर्न नहुने समेत सुझाव दिएका छन् ।

कार्यक्रममा पूर्व सांसद सूर्य पाकेछु आज सञ्चारमाध्यमहरुले पस्किने समाचार र सूचनाहरुलाई नागरिकले कति विश्वास गरिरहेका छन् भनेर स्वयम सञ्चारमाध्यमहरुले पनि सोच्नु पर्ने अवस्था रहेको बताएका छन् । अहिले संविधानमाथि चौतरी खतरा रहेको बताउँदै उनले नेपालको लोकतन्त्र र सामाजिक परिवर्तनका लागि सञ्चार क्षेत्रले अह भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले सामाजिक चेतनाका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण भएकाले यो निरन्तर रहनु पर्ने बताए ।

यस्तै कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विजय कँडेलले सञ्चारमाध्यमहरुले विभिन्न सूचना सञ्चार गर्नेक्रममा कतिपय कुरामा सेन्सर गर्नुपर्ने बताए । उनले सञ्चारमाध्यमहरुले जनताका समस्याहरुलाई उठाउँदै सरकार र राज्यलाई अगाडि बढ्ने बाटो देखाउनु पर्ने बताए । उनले अहिलेको समयमा पनि खोज पत्रकारितालाई अगाडि बढाउन सञ्चारमाध्यमहरु अग्रसर हुन नसकिरहेको बताए । मोनिका सिंहको अध्यक्षता भएको कार्यक्रममा युवराज कँडेल र सुगारिका केसीले सहजीकरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *