‘महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका’
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार स्थापित गराउन स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
प्रजातान्त्रिक आन्दोलनको प्रथम महिला नेत्री मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला शाखाले आज मङ्गलादेवी पार्कमा बुद्धनगरमा आयोजना गरेको कार्यक्रममा उनले नेपाली महिलाहरूको हक, अधिकारका लागि मङ्गलादेवीको उल्लेख्य योगदान रहेको धारणा राखेका छन् ।
नेता सिंहले महिलालाई मताधिकार हुनुपर्छ भनेर मङ्गलादेवीद्धारा आवाज उठाएकै कारणले महिलाहरूले पनि मतदान गर्न पाउने अधिकार पाएको स्मरणसमेत गरेका छन् । “महिलालाई मताधिकारको प्रयोग गर्न दिनेदेखि पढ्न पाउनुपर्ने माग मङ्गलादेवी कै कारण पूरा भएको हो,” उनले भनेका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेत्री मङ्गलादेवीको १००औं जन्मजयन्तीको अवसरमा वर्षभरी विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने कार्यक्रम रहेको महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनीले जानकारी दिएकी छिन् ।
मङ्गलादेवीको योगदानको बारेमा विशेष गरी नेपाली महिलाको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकार दिलाउने सन्दर्भमा पनि उनले गरेको सघंर्ष लाई पुनः ताजगी गर्नका निम्ति विभिन्न कार्यक्रम आयोजना गरिने पुडासैनीले बताएकी छिन् ।
