सञ्चारमन्त्री र सञ्चारकर्मी आमनेसामने (तस्बिरहरु)
नेसनल प्रेस क्लब नेपालले बुधबार आयोजना गरेको सञ्चारमन्त्रीसँग सञ्चारकर्मी कार्यक्रममा मन्त्री खरेल सञ्चारकर्मीहरुका प्रश्नले घेरिए । क्लको कार्यालय अनामनगरमा भएको अन्तरक्रियामा सञ्चारकर्म गरेरै मन्त्रालय तहमा पुगेका खरेलले विगतको आफ्नो अनुभव समेतलाई जोडेर पत्रकारका प्रश्नहरूको जवाफ दिए ।
उनले पत्रकारको सुरक्षा र हकहितका लागि आफूले गर्नसक्ने प्रयास गर्ने बताए । ‘पहिलो त तपाईंहरूले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ,’ मन्त्री खरेलले सञ्चारकर्मीहरूलाई भने, ‘तर, राज्य छ । राज्यले तपाईंहरूलाई सकेको सहयोग गर्छ । फेरि पनि अर्को पत्रकार सुरेश रजक बन्नु नपरोस्।’
कार्यक्रममा समाजिक सञ्जाल नियमन, सञ्चारकर्मीको हकहितका विषय, सरकारको १०० दिनको प्रगति, फागुन २१मा तोकिएको चुनावको तयारी तथा जेनजी आन्दोलनका बारेमा छलफल भएको थियो । सञ्चारमन्त्री खरेललाई नेसनल प्रेस क्लबकी अध्यक्ष मोनिका सिंहले स्वागत गरेकी थिइन् ।











