‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन’
आमा,
तिम्री छोरी
छोरी मात्र भइन।
भविष्यको यात्रामा घरबाट निस्केकी
तिम्री छोरी,
घरको आँगन नाघेर
सायद केही अघि बढ्दासम्म मात्र छोरी थिई
भविष्यका सुनौला सपना देखेकी
तिम्री छोरीले अन्जान मै
तिम्री छोरी गुमाईसकी।
गर्व नगर्नु आमा
अब गाउँमा
मेरी छोरी संस्कारी,यस्ती उस्ती छे
इमान जमानमा छे भन्दै।
तिमीले मातृ वात्सल्यले जति सुकै संस्कारी बनाएपनि,
जति नै इमान-जमानमा बसे नि,
यो गिद्द,ब्वाँसाेकाे शहरले
तिम्री छोरीलाई छोरी मात्र भएर बस्न दिएन।
अब आश पनि राख्न छाडिदेऊ आमा,
छोरीको भविष्य सुनौलो हुन्छ भनेर।
यस्तो सोच कि,
एक फूल थियो
मुसलधारे पानी आयो
र
सबै फूलको लालीमा उजाड बनाइदियो।
फुलको सुन्दर जवानी
त हेर्न नसक्ने यो समाजले
यो फूलको पुष्पित भविष्य कसरी हेर्न सक्ला ?
सक्दो नङ्ग्याउलान् यो फूललाई
सके जति एसिड प्रहार गर्लान् फूलको वदनमा
मेरो कोमल चेहेरामा,
एकै पटक सयौंले भमराले इज्जत लुट्न खोज्लान्।
भयो,
अब आश राख्नै छाडिदेऊ आमा,
यो फूलको
यो फूल अब फूल मात्र रहिन।
फूल बनेर तिम्रो काखमा फुलेको तिम्री फूलको
यो यो फूलबारीले पहिचान बदलिदिएको छ।
अहिले मेरो नामको सट्टा
चरित्रहिन भनि बोलाउछन् ।
मलाई सक्छौं, भने माफ गर आमा,
तिमीले नौ महिना
कोखमा सुरक्षित राखेर,
यतिका वर्ष
हुर्काइ,बढाइ गर्यौ।
आज
म आफ्नै खुट्टामा उभिने भएपछि
तिम्री छोरीलाई मैले जोगाउन सकिन
आमा
अब तिम्रो छोरी
छोरी मात्र भइन।
चरित्रहिन
बलत्कृत
अरु के-के भइसकी।
आमा,
अझै छोरीको सुरक्षा गर्छु भन्ने
आँट नगर।
तिमी तिम्रो छोरीलाई
सुरक्षित देख्न
र देखिरहन चाहान्छौ भने,
तिम्रो कोखमै मात्र सिमित राख
मेरो जिवनलाई।
त्यो स्वर्ग जस्तो कोख देखि
नजन्माउ,
तिम्रै कोखमा मात्र सिमित राख,
म त्यहाँ नौ महिना मात्र हैन
नौ जुनि सुखै सुखले बाँच्छु
(तिम्री संस्कारी र छोरी मात्र भएर)।
आमा!
तिम्रै कोखमै मात्र सिमित राख।
