लुप्त प्रेम
सामान्य कुरा प्रायः भइरहन्छ। त्यति सम्झना रहँदैन। असामान्य कुरा एकचोटी भएपछि सधैंभरि सम्झना रहन्छ। आफैंभित्र हुँदा जीवनभरि रहन्छ तर आफूभन्दा बाहिर गयो भने पुस्तौँ पुस्तासम्म पनि रहन सक्छ। त्यो उपन्यास वा आख्यानको रूपमा रहन सक्छ अथवा आलेख-अभिलेखको रूपमा रहन सक्छ, लोककथा बन्न सक्छ, गीत, कविता, कथा,नाटक आदि बनेर रहन सक्छ। हो, मेरो पनि जीवनको एउटा कथा छ-मुटुमा लुकाएर राखेको कथा। लुकाएर राखेका कुराहरू आफैँमा असामान्य भएर छट्पटिँदा रहेछन्, त्यसैले म सबैको माझ झिक्छु, फाल्छु र छरपस्ट पारिदिन्छु, जसले गर्दा मलाई शान्ति मिलोस् र अरुलाई पनि सही/गलत छुट्याउने अवसर मिलोस्।
कुरा सामाजिक सञ्जाल फेसबुकबाटै सुरु भएको थियो। धेरैपटक यस सामाजिक सञ्जाल बनाउने मान्छेलाई भगवान मानेर धन्यवाद दिँदै ढोगेको छु। छुटेका साथी भेटिए। छुटेका आफन्त भेटिए। नयाँ साथी बने। सबैको हालखबर देखियो, बुझियो। भौतिक रूपमा टाढा भए पनि प्रत्यक्ष रूपमा बोल्न पाइयो, देख्न पाइयो। आवश्यकता परे धाइरहनु परेन। सेकेन्ड भरमा चाहेको व्यक्तिसँग कुरा गर्न पायो। तर, कहिले काँही धिकारेको पनि छु। यसले गर्दा सामान्य मान्छेको जनजीवन अस्तव्यस्त भयो। पढ्नेले पढेनन्, सुन्नेले सुनेनन्, नबोली नहुनेहरुसँग बोलेनन्, बोल्नै नपर्नेहरुसँग बोलेर समय र चरित्र बर्बाद गरे। हो, त्यही समय र चरित्र बर्बाद गर्ने मान्छेहरू मध्य म पनि एक हुँ।
म विवाहित स्त्री थिएँ। मेरा श्रीमानले मलाई अत्यन्त प्रेम गर्नुहुन्थ्यो तर उहाँ मेरो साथमा हुनु हुन्नथ्यो। कार्यालयको कामले बाहिर बस्नुहुन्थ्यो, समय मिलाएर आउने/जाने गर्नुहुन्थ्यो। फेसबुक चलाउँदा, एकजना विवाहित पुरुषसँग मेरो परिचय भयो। वहाँ एक छोरा र एक छोरीका बा हुनुहुन्थ्यो। म पनि एउटा छोरीकी आमा थिएँ। हाम्रा बच्चा सानै थिए।
कुराकानी च्याटबाट सुरु भयो। बिस्तारै अडियो हुँदै भिडियोसम्म पुग्यो। भिडियोसम्म पुग्दा हामी साथी नभएर आफ्नै भइसकेका थियौँ ।सुरुमा बोल्न निक्कै अप्ठेरो भए पनि पछि नबोली नसक्ने भएका थियौं। विशेष गरेर म आफैं, नबोल्ने प्रयास गरेकी थिएँ-म विवाहित हुँ ऊ पनि विवाहित हो भनेर। पहिले ‘साथी’ भनेर बोलियो। बोल्दै जाँदा प्रेमिल कुराहरू भए र प्रेम भयो।
विपरीत लिङ्गि हुँदैंमा प्रेम हुन्छ भन्ने छैन। प्रेम हुन संयोग मिल्नुपर्छ। विवाहित हुँदा प्रेम हुँदैन भन्ने कुरा झुटो भयो। विवाह एउटा कुरा रहेछ, प्रेम अर्कै कुरा रहेछ। विवाहित भएर पनि प्रेम भयो, छोराछोरी भएर पनि प्रेम भयो, उमेर ढल्किएर पनि प्रेम भयो। उसँग नबोल्दा अथाहा पीडा हुन्थ्यो, बरु श्रीमानसँग नबोल्दा पीडा भएन। त्यति धेरै पीडा हुन्थ्यो जति कोही प्रिय मान्छेको मरेको थियो।
कुनै दिन ऊ व्यस्त भएर कल गरेनन् भने मेरा आँखा उसै चुहिन थाल्थे। म रोइदिन्थें। मनले शंका गर्थ्यो- ‘माया गर्दैनन् कि, प्रयोग पो भएँ कि!!’
बदनाम हुने कि, घरपरिवार, श्रीमान, बच्चा, समाज, आफन्त, साथी-सबैलाई सम्झन्थें। अनि मुटु फुट्नेगरी दुख्थ्यो। कतिपटक त मुटु भड्किएको पनि थियो, अनुभव गरेकी थिएँ। त्यसरी केही समय वा धेरैपटक भड्किएपछि मुटु निस्क्रिय हुने संकेत पाएकी थिएँ। नसानसा दुख्थे। बिरामी महसुस हुन्थ्यो। आँखा उसै चुहिन्थे। बस रोइदिन्थें। धित मारेर रोइदिन्थें। जबसम्म आँखा थाक्दैनन्, आँसु सकिंदैनन्,आफैँलाई पिटेर रुन्थें।
जब उनको फोन आउँथ्यो, तब मनैदेखि शरीरमा स्फूर्ति आउँथ्यो। अनुहार तातिन्थ्यो,चम्किन्थ्यो, शान्ति मिल्थ्यो र आनन्द मिल्थ्यो। प्रेममा ठूलो शक्ति हुँदो रहेछ। उनी आकर्षक र मोहित थिए। उनलाई कहिलै नछोडौँजस्तो लाग्थ्यो। म जसरी व्यक्त हुन्थें, उनि पनि त्यसरी नै व्यक्त हुन्थे। हाम्रा कुरा मिल्थे र विचार पनि मिल्थे। आखिर सबै कुरा मिलेर नै प्रेम भयो।
फोनमा कुरा गरेर चित्त बुझेन। हामी लुकेर भेट्न थाल्यौं। एक अर्कामा शरीर साट्यौं। हामी अंगालोमा निक्कै कसिएर बेरिन्थ्यौं। एउटा मुटुको आवाज अर्को मुटुलाई सुनाउँथ्यो। हामीमा बढो प्रेम थियो। उनले सानो भन्थे, मैले बाबा, हजुर भन्थें। हामी समाजले दिने पोतेबिना श्रीमान-श्रीमती भैसकेका थियौं। यसरी भेटेर छुटिने बेलामा निक्कै टाढाको एकल यात्राको महसुस हुन्थ्यो। हामी अँध्यारो मुहारमा बिना चाहना छुटिन्थ्यौं।
समय यसरी नै बितिरहेको थियो। धर्म नछोडेका मान्छेले धर्म छोड्दा पाप लाग्छ भन्ने कुरा मैले महसुस गरेँ। मैले कतै नछोडेको धर्म पुरुषमाथि छोडेकी थिएँ। अत्यन्त माया गर्ने श्रीमान हुँदा हुँदै जोगाएर राखेको धर्म छोडेकी थिएँ। मलाई पाप लाग्यो। मलाई श्राप लाग्यो। हृदयघातको कारणले मैले श्रीमान गुमाएँ। म विधवा भएँ। मेरो श्रृंगार गुम्यो। मेरो जिम्मेवारी गुम्यो। मेरो अमूर्त प्रेम गुम्यो। छोरीले बाबा गुमाइन। हाम्रो सबैथोक गुम्यो।
म शोकको घडीमा धेरै डुबेँ।पश्चातापले डुबेँ,प्रेमले डुबेँ,व्यवहारले डुबेँ । सबै कुराले डुब्दाडुब्दै आँसुको तलाउमा डुबेँ । कहिलै निस्किन्न जस्तो लागेर डुबें। जति डुबे पनि व्यवहार-व्यवहार नै रहेछ। उठेर सम्हालिनु पर्दोरहेछ। के गर्नु छोरी सानी थिई । उसका लागि भए पनि म उठ्नुपर्यो। साहसका साथ उठें, सम्हालिएँ।
मैले पहिले जस्तो उनलाई भेटेकी थिइन । एकदिन उनी भेट्न आए। उनलाई देखेपछि धेरै रोएँ। आवाज छोडेर रोएँ तर अंगालेर रुन सकिनँ । मलाई लाग्यो, मेरो श्रीमानको आत्माले देखिरहेको छ। मैले उनलाई हेरेर रोएँ। घरमा म एक्लै थिएँ। उनले पनि खै किन हो अंगालेनन्। धेरै बेरपछि धेरै कुरा सम्झाए। मन अलि शान्त भयो। जाने बेलामा उनले अंगाल्न खोजे, म मानिनँ, तर उनको प्रेमको अगाडि मैले हारी हाल्थें। म फेरि अंगालोमा बाँधिएँ।
फेरि हाम्रो दिनचर्या पहिलेझैँ सुरु भयो। हामी लुकेर भेट्ने गर्थौं। उनले पहिलेभन्दा बढी प्रेम गरेको महसुस हुन्थ्यो। पहिले केही नदिने मान्छे, मेरो आवश्यकता हेरेर सामान ल्याइदिने गर्दथे। पैसा पनि दिन्थे। लुगा किनिदिन्थे। छोरीको फी तिरिदिन्थे। आधाभन्दा बढी व्यवहार उनले टार्न थालेका थिए।
पापको परिणाम उनलाई पनि पर्यो। उनकी श्रीमती पनि मेरो श्रीमानझैँ बितिन्। उनलाई पनि ठूलो चोट पर्यो। उनका छोराछोरीले आमा गुमाए। उनको घरमा पनि बज्रपात पर्यो। उनका परिवारका कसैले नचिने पनि म भेट्न गएँ। उनका बा किरियामा बसेका रहेछन्। हेराहेर गर्यौं। दुवै बोल्न सकेनौं। मलाई देख्ने बित्तिकै उनका आँखा रसाए। भित्र पसे, त्यसपछि बाहिरै आएनन्। मैले धेरै बेर पर्खिएर बसें। उ ननिस्किएपछि म हिँडेँ।
घर आएर म धेरै रोएँ। रूदै सम्झाउने शब्दहरू, सन्देश पठाएँ। लामो सन्देश पठाएँ। उनले हेरे र हाँस भने। मलाई केही आनन्द भयो, तर बिचलित भने भैरहें।
छोरी स्कूल गएकी बेला केही दिनपछि फेरि उनी भेट्न आए। पहिलेजस्तै फेरि हाम्रो सम्बन्ध सुधारियो। उनी आफैं मलाई बुझाउँथे। हाम्रो भाग्य नै यस्तै रहेछ। हामी सकिनसकी आफैंलाई बुझाइरहेका थियौँ। यो पाली मैले नै उनलाई अँगालो हालें। सुनसान कोठामा शोकलाई शान्तिमा बदल्दै रमाउन खोज्यौं। केही समयपछि उनी आफ्नो घर गए।
समय बितिरह्यो। दुवैको वर्षान्त सकियो। पहिलेभन्दा भेट पातलो हुन थाल्यो। उनी व्यस्त भएँ,भनेर आउँदैन थिए। एकदिन फेसबुकमा देखें, उनले फेरि अर्को विवाह गरेछन् । मलाई पहिले के बज्रपात परेको थियो र,उनका विवाहका तस्वीर देखेपछी ठूलो बज्रपात पर्यो।
त्यसपछि ठूलो हिम्मतका साथ म्यासेज गरे- ‘के हाम्रो प्रेम झुटो थियो? म योग्य थिइँ? छोराछोरीलाई माया गर्दिन थिएँ? किन अर्को विवाह गर्नु भयो?’
उनले सजिलै भने, ‘तिमी एक विधवा हौ। आफ्नो श्रीमान हुँदा हुँदै पर पुरुषसंग लाग्ने चरित्रहीन हौ। जानी–जानी म कसरी विवाह गरौँ? विवाह हुन त अरुसँग नलागेको मान्छे हुनुपर्छ।’ उनले बुढी कन्या विवाह गरे । बुढी अविवाहित थिइन्। तर के कन्या नै थिइन् त? सबैको चरित्र सबैले बुझेका हुन्छन्? मेरो चरित्र उनले बुझेका थिए। मैले पनि उनको चरित्र बुझेकी थिएँ। म उनलाई चाहन्थें। उनले इन्कार गरे। महिलाले अर्को पुरुष भोग्दा चरित्रहीन हुने, तर पुरुषले जति वटी महिला भोगे पनि किन चरित्रवान हुन्छन्?
उनी पनि त मसँग लागेका थिए। म चरित्रहीन भएँ, उनी चरित्रवान भए। उनकै अनुरोधमा सबै गरेकी थिएँ। जे गरें, उनकै लागि गरेकी थिएँ। त्यसपछि मलाई त्यो शहरमा बस्न मन लागेन। घर बेचें र अर्को शहरमा छोरी लिएर गएँ। एक्लै जिउने प्रण गरेँ। सावधान भएँ। कुनै पुरुषप्रति नजर नलागोस, बरु आँखा फुटेर अन्धो हुनु परोस्,यही प्रतिबद्धता राखें।
उनलाई हरेक सम्पर्कका माध्यमबाट बन्द गरें। तर याद बन्द गर्न सकेकी छैन। एककोहोरो यादले सताएको छ-बुढाको याद, प्रेमीको याद।
छोरीलाई मैले पाएको शिक्षाको संस्कार दिनु छ। छोरीलाई बुझाउनु छ। पुरुषवादी समाजको एउटा आँखो देखाउनु छ। मेरी छोरीलाई म भएर होइन,मेरी छोरी भएर बाँच्न सिकाउनु छ। छोरी बढ्दैछिन्। जति छोरी बढ्छिन्,मेरा कर्तव्य, जिम्मेवारी र एककोहोरो याद त्योभन्दा धेरै भएर बढिरहेका छन्।
